मिस नेवाः प्रतियोगीको थरी थरी ट्यालेन्ट


व्युटी न्युज नेपाल
काठमाडौं, २९ बैशाख

१३ औं संस्करणको ‘मिस नेवाः ११३८’ का प्रतिस्पर्धीहरुले शनिबार राजधानीमा ट्यालेन्ट शो प्रस्तुतिका क्रममा विभिन्न कला प्रस्तुत गरेका छन् ।

नेप्लीज फेसन होमद्वारा नेवार समुदायका युवतीहरुको प्रतिभा प्रस्तुतिका लागि आयोजित यो संस्करणमा सहभागी १७ जना प्रतिस्पर्धीले थरी थरी कला प्रस्तुत गरेका हुन् ।

परम्परागत नेवारी पहिरन हाकु पटासीमा सजिएका अधिकांश सहभागीहरुले नेवारी भाषाका लोकप्रिय गीतहरुमा नृत्य गरे ।  केही प्रतिस्पर्धिहरुले विभिन्न धार्मिक नृत्य समेत प्रस्तुत गरे । चर्या, कुमारी, चण्डी जस्ता धार्मिक नृत्य प्रस्तुत गर्ने प्रतिस्पर्धीहरु देवीकै स्वरुपमा प्रस्तुत भएका थिए ।

ट्यालेन्ट शोको क्रममा निकिता शाक्य, प्रजिता श्रेष्ठ, सन्ध्या श्रेष्ठ, प्रज्ञा श्रेष्ठ, अनिशा तोयना, रिजु मानन्धर, बीना महर्जन, सृष्टि शाक्य, राधा श्रेष्ठ, मतिना मानन्धर, प्रदिका महर्जन, उस्मि श्रेष्ठ तथा पस्मिना शाक्यले नृत्य गरे ।

बाँकी प्रतिस्पर्धीहरु मध्य अञ्जु श्रेष्ठ, सरिसा श्रेष्ठ तथा मिलु श्रेष्ठले वक्तृत्व र सरिला मर्हजनले धिमे बाजा बादन प्रस्तुत गरे ।

ट्यालेन्ट शोको निर्णायकहरुमा पूर्व मिस नेवाद्वय योगिता महर्जन, इप्सु श्रेष्ठ, गायक निर्णय श्रेष्ठ, समाजसेवी उज्जवल कृष्ण श्रेष्ठ, नेपाल टेलिकमकी व्यवस्थापक रीना डंगोल, नेपाः डान्स एकेडेमीकी संयोजक रीना महर्जन, उद्योगी प्रदीपमान प्रधान, क्यान्सर एसोसिएसनका अध्यक्ष अजय सिंह सुवाल तथा डा.विमला शाक्य थिए ।

नयाँ मिस नेवाः को चयन आगामी १२ जेठमा  काठमाडौंमा एक भव्य समारोहबीच हुनेछ ।

विगत १३ वर्षदेखि नेवार समुदायका युवतीहरुलाई नेवार भाषा, कला, संस्कृति, धर्म तथा रीतिरिवाजका बारेमा जानकारी दि“दै यसको संरक्षणमा प्रेरित गर्ने उदेश्यले मिस नेवाः प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताईन् ।