सात श्रष्टा साहित्यकला मन्दिरबाट सम्मानित


व्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

बिगत झैं सय पटक पनि, लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले सात जना श्रष्टालाई सम्मान गरेको छ । मन्दिरको २४ औं वार्षिक उत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा बिहिबार राजधानीमा एक समरोहबीच सम्मान गरेको हो ।

कार्यक्रममा गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट आख्यानकार भागीरथी श्रेष्ठ सम्मानित भईन् । नेपाली साहित्य क्षेत्रमा निरन्तर योगदान पु¥याएको ठहर गर्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । कार्यक्रममा आख्यानकार श्रेष्ठलाई एक लाख रुपैयाँ सहित ताम्रपत्रबाट सम्मानित गरियो ।

यस्तै नारायणगोपाल सङ्गीत सम्मानबाट सङ्गीतकार शुभबहादुर सुनामलाई सम्मानित गरियो । संस्कृति र समाजशास्त्रको अध्ययन अनुसन्धानमा निरन्तर योगदान पु¥याएका अनुसन्धानकर्ता प्रा. डा. प्रेमकुमार खत्रीलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट सम्मानित गरियो ।

चार दशक भन्दा लामो समयदेखि रँगमञ्च हुँदै चलचित्रमा निरन्तर अभिनय गरेकी अभिनेत्री मिथिलाई शर्मालाई बालकृष्ण सम रङ्गसम्मानबाट सम्मानित गरियो । ललितकलामा चार दशक भन्दा लामो योगदान पुर¥याएको भन्दै कलाकार शशीकला तिवारीलाई यस पटक अरनिको ललितकला सम्मानबाट सम्मानित गरियो ।

यस्तै कविता, गीत लेखनमा योगदान पु¥याएको भन्दै सरस्वती सम्मानबाट कवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरियो । यस वर्षको नेपाल नवप्रतिभासम्मानबाट कवि तथा पत्रकार फूलमान बललाई कार्यक्रममा सम्मानित गरिएको छ ।

सम्मानित स्रस्टाहरूलाई कवि तथा गीतकार कालीप्रसाद रिजालले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए । यी ६ ओटै सम्मान स्वरुप ताम्रपत्रसँगै जनही ५१ हजार एक रुपैयाँ प्रदान गरियो ।

लुनकरण दास गंगादेबी चौधरी साहित्य कला मन्दिरको यात्रा र पुरस्कृत श्रष्टाका बारेमा सो कार्यक्रममा साहित्यकला मन्दिरका उपाध्यक्ष तथा वरिष्ठ अभिनेता हरिहर शर्माले प्रकाश पारे ।

सम्मानित स्रस्टाहरूको तर्फबाट बोल्दै प्रा. डा. प्रेम खत्रीले नेपाली संस्कृतिको अध्ययन अनुसन्धानका क्रममा आफुले भोगेका अनुभव सुनाए । आफुलाई यसरी सम्मानित गरिएकोमा उनले खुसी व्यक्त गरे ।

सोही समारोहमा कवि तथा गीतकार बसन्त चौधरीको हिन्दी र अँग्रेजी भाषामा प्रकाशित काव्यकृति ‘चाहतों के साये में’ को लोकार्पण पनि गरियो । सो पुस्तकको लोकार्पण कवि एवम् गीतकार कालीप्रसाद रिजाल तथा हिन्दी भाषाका अग्रज कवि डा. विजय पण्डितले संयुक्त रुपमा गरे । कार्यक्रममा सो पुस्तकको समीक्षा त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख श्वेता दीक्षितले गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कला साहित्यको विकाश र प्रोत्साहनका लागि २४ वर्ष अघि यो कला मन्दिर स्थापना गरेको सो कला मन्दिरका अध्यक्ष एवम् कवि बसन्त चौधरीले बताए । चौधरीले आफ्नो लोकार्पित कृतिको रचना बारे स्मरण सुनाउँदै सँग्रहका केही कविता पनि वाचन गरे ।

यस्तै सम्मान समारोहलाई सम्बोधन गर्दै गीतकार एवम् कवि रिजालले साहित्यकला मन्दिरको सम्मानले आफ्नो साधनाका क्षेत्रमा लाग्ने स्रष्टा–कलाकारहरूलाई प्रोत्साहन मिल्ने बताए । हिन्दी भाषाका कवि डा. पण्डितले पनि सम्मान कार्यक्रमको प्रसँसा गर्दै बसन्त चौधरीको ‘चाहतों के साये में’ भित्र मिठास कविता छ भने ।