व्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

यही २८ बैशाखबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र लम्फुले मोफसलको प्रचार यात्रा सम्पन्न गरेको छ । सप्ताहव्यापी मोफसल यात्रा पछि चलचित्र लम्फू यूनिट आईतबार काठमाडौ फर्किएको छ ।
मोफसल यात्राको क्रममा धरान, दमक, हेटौँडा, चितवन र पोखरामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सबै स्थानहरुमा तरकारीवाली कुशुम श्रेष्ठको प्रसंग प्रमूख स्थानमा रहेको निर्माण पक्षले बताएको छ । तरकारीवाली उर्फ कुशुम हेटौँडा र चितवनका पत्रकारसामु भने पुगेकी थिइन् ।

मोफसल यात्रामा कुशुम सहित कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्लभ घोरासैनी लगायतको टीम थियो । चलचित्रका अन्य कलाकारहरु सलोन बस्नेत, मरिस्का पोखरेल, चाँदनी शर्मा लगायत भने राजधानीमा नै प्रचारको लागी रहेका थिए ।

मोफसल यात्रामा तरकारीवालीलाई किन चलचित्रमा लिनुभयो ? ‘तरकारीवाली’को भूमिका के छ ? कतै तपाईँहरुले तरकारीवालीलाई प्रयोग मात्र गर्नुभएको त होईन ? तरकारीवाली लिएर चर्चा भएपछि चलचित्र हिट हुन्छ भनेर लिनुभएको हो ? तरकारीवालीलाई कसरी चलचित्रमा अभिनय गर्न राजी गराउनुभयो ? जस्ता प्रश्नहरु निर्माता(निर्देशक माथी आएका थिए । यसबारेमा बोल्दै निर्देशक गोपालचन्द्र लामिछानेले कुशुमलाई प्रयोग गरेको तर गलत प्रयोग नगरिएको जवाफ दिए ।

चर्चाको नामलाई प्रयोग गरेर चलचित्र हिट बनाउन खोजिएको हो की भन्ने पत्रकारहरुको निर्देशक लामिछानेले तरकारीवालीलाई होइन कुशुम श्रेष्ठलाई अभिनय गराएको बताए । तरकारीवाली एक्कासी जुरेको कुशुमको पहिचान मात्र रहेको लामिछानेले बताए । तरकारीवाली भन्दा अलिक फरक तरिकाले कुशुमले अभिनय गरेको खुलाए ।

चलचित्रको बिषयमा बोल्दै निर्देशक लामिछाने भने, ‘मेरो चलचित्र अमलाको स्वादजस्तो छ, शुरुमा टर्रो खाँदै जाँदा स्वादिलो’, पूर्णतया मौलिकता बोकेको चलचित्र बनेको बताउँदै उनले राम्रो लागे अँगालीदिनुस नराम्रो लागे गाली गर्नुस् भने ।

चलचित्रका निर्माता शक्तिबल्लभ घोरासैनीले काठमाडौ उपत्यका बाहिर चलचित्रको ठुलो बजार रहेकोले प्रचार प्रसारको लागि मोफसल पुगेको जानकारी दिए ।
पत्रकार भेटघाटका क्रममा नव अभिनेता कबिर खड्काले आफ्नो लागि चलचित्र लम्फू भाग्य निर्धारक भएको बताए । कलाकारहरु सञ्जीत भण्डारी र आयान खड्काले लम्फू मौलिक नेपाली चलचित्र बनेको दाबी गरे ।