व्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

आगामी ४ जेठबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ’हैरान’को ट्रेलर सार्वजनिक भएको छ । युट्युब मार्फत आएको ट्रेलरमा सम्पूर्ण कलाकारलाई समेटिएको छ ।

सार्वजनिक टिजर तथागीतसंगीतको कारण चर्चामा रहेको यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा ट्रेलर रिलिज गरिएको हो । यसै बिषयमा हैरानका अभिनेता गजित बिष्टले भने,‘हैरानको शिर्षक गीत र टिजरपछी हल ट्रेलर सार्वजनिक गरेका छौं । टिजर र गीतले राम्रो चर्चा पाइरहेको बेला सार्वजनिक ट्रेलरलाई पनि दर्शकले रुचाउनु हुन्छ भन्ने आशा छ ।’

विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको हैरानलाई हास्य र द्वन्द्व जनरामा निर्माण गरिएको छ । पहिलो चलचित्र ‘लभ यु बाबा’ मार्फत सौगातले विश्वका कान्छा निर्देशकको रुपमा गिनिज अफ वल्र्ड बुकमा नाम लेखाएका हुन् । यिनै सौगातले दोस्रो चलचित्रको रुपमा हैरान तयार गरेका छन् ।

रिलिज ट्रेलर

 अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको छ । चलचित्र बारे निर्देशक सौगातले भने,‘ अहिल हाम्रो समाजमा जीवनयापनको क्रममा देखिएका विविध समस्या र पात्रको भोगाईलाई यसमा प्रस्तुत गरिएको छ । यसपटक मलाइ अंकल गम्भीर विष्टले टेक्निकल निर्देशकको रुपमा सहयोग गर्नु भएको छ ।’

हैरानमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित यस सिनेमामा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा, सम्झना पोखरेल निर्माता छन् ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्द्व निर्देशनमा चन्द्र पन्त, संगीतकारमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ छन् । हैरानको डीओपी नवराज उप्रेतीको र छायाँकन निरज कँडेलको हो ।