गाडी सहज भएपछि डमरुको डन्डीबियोको व्यापारमा उत्साह


काठमाडौं, २२ बैशाख

शुक्रबारबाट सिन्डिकेट पक्षधर बस व्यबसायीले सुरु गरेको यातायात हड्तालका कारण सडकमा सार्वजनिक यातायात चलेन । सोही कारण सिनेमा हलमा दर्शक जान नसकेपछि शुक्रबार सिनेमाको व्यापार ठप्प जस्तै थियो ।

तर शुक्रबारको तुलनामा शनिबार केही गाडी चलेपछि सिनेमा हलमा दर्शक आउने क्रम बढेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘डमरुको डण्डीबियो’को व्यापार शुक्रबारको तुलनामा शनिबारबाट केही राम्रो भएको निर्माण पक्षले जनाएको छ ।

‘डमरुको डण्डीबियो’को शनिबार देशभरका हलमा ८० प्रतिशत व्यापार रहेको यसको निर्माण पक्षको भनाई छ । शनिबार नेपाल कम्युनिष्ट पार्टीको बन्दको हल्ला भए पनि राजधानीमा मल्टिप्लेक्सका सिट हाउसफुल भएको वितरक गोविन्द शाहीले जानकारी गराएका छन् । सिनेमाको दर्शक प्रतिक्रिया पनि राम्रो भएकाले आगामी दिनमा व्यापार बढ्ने आशा छ ।’

यस्तै काठमाडौंका सिँगल थिएटरमा पनि व्यापार राम्रो भएको शाहीले जानकारी गराउँदै भने,‘बन्दको हल्लाले शनिबार विहानका केहि शोहरु प्रभावित बनेपनि दिउँसोका प्राय शोहरु हाउसफुल भए । गंगा, गुण, गोपीकृष्ण, अष्टनारायणजस्ता हलमा दर्शकको उपस्थित फुल रह्यो ।’ शाहीले भने,‘मल्टिप्लेक्स अन्तर्गतका क्युएफएक्स, एफक्युब, सिने डी सेफ, बीएसआर, क्युज सिनेमाका अधिकाँस शोज हाउसफुल भएका छन् । यसलाई सुखद मान्न सकिन्छ ।’

दर्शकको प्रतिक्रिया बुझ्न विभिन्न सिनेमा हल पुगेको यो चलचित्रका मुख्य अभिनेता खगेन्द्र लामिछानेल भने,’प्रत्येक सिनेमामा फरक विषयबस्तु र अवतारमा प्रस्तुत हुँदै आइरहेको छु । यसपटकको विषय र अभिनय दर्शकले मन पराउनु हुन्छ की हुदैन भन्ने डर थियो ।’ दर्शकको उत्साहित प्रतिक्रिया आगामी दिनमा अझ राम्रो गर्ने उर्जा दिएको खगेन्द्रले बताए ।

खगेन्द्र र अनुप बराल दर्शक प्रतिक्रिया बुझ्न शनिबार बेलुका गोपीकृष्ण, अष्टनारायण, कुमारी, जयनेपाल लगायतका हलमा पुगे । जहाँ दर्शक प्रतिक्रियाले उत्साहित बनाएको खगेन्द्र र अनुपले बताए ।

सिनेमामा खगेन्द्र र अनुपसँगै अलावा मेनुका प्रधान, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतकाको अभिनय छ ।

यो चलचित्रलाई छेतेन गुरुङ निर्देशन गरेका हुन् । सहरमा पढाई सकेर लोपोन्मुख डण्डीबियो खेललाई पुनर्जागरण गर्न गाउँ पसेको युवाको कथालाई यो चलचित्रको मुख्य कथा बनाईएको छ । डमरुको डन्डीबियो अहिले मुलुकका ६ दर्जन सिनेमा हलमा चलेको छ ।

जसमा नोर्बु छिरिङ घले र विनोद गुरुङको लगानी छ । खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादनमा यो चलचित्र तयार भएको हो ।