निर्माताको आन्दोलनले प्रदर्शोन्मुख सिनेमाका निर्माता अन्यौलमा


 

‘२ जेठबाटै हल बन्द गर्ने भनेपछि अब के गर्ने भनेर हामी यतीबेला साँच्चै हैरान भएका छौं । त्यही पनि हामी फिल्मको प्रचार रोक्दैनौ र बार्ता मिल्यो भने ४ जेठमै हैरानलाई दर्शकमाझ ल्याउने छौं ।’
–गजित बिष्ट (निर्माता, अभिनेता, चलचित्र हैरान)

………………………………….     ……………………………………….

‘निर्माता संघले आन्दोलनको घोषणा गरेपछि हामी ११ जेठमा फिल्म लगाउने की नलगाउने भन्ने अन्यौलमा छौं । सोही कारण फिल्म ब्ल्याकको पब्लिसिटी पनि खुलेर गर्न पाएका छैनौं । अब फिल्म त्यो मितिमा ल्याउने की नल्याउने भन्नेबारे बितरकसँग छलफलपछि आईतबारमात्र तय गर्छौं ।’
– प्रदीप श्रेष्ठ (निर्देशक, चलचित्र  ब्ल्याक)

………………………………….     ……………………………………….

व्युटी न्युज नेपाल

काठमाडौं, २२ बैशाख

नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालले आफ्ना सिनेमालाई चलचित्र घरमा प्रदर्शन गर्दा प्राप्त शेयर कामी भएकोबारे घोषणा गरेको आन्दोलनले प्रदर्शन हुन लागेको चलचित्रका निर्माता अन्यौलमा परेका छन् । निर्माता संघले २ जेठबाट आन्दोलनमा उत्रनै भन्दै त्यही दिनबाट सबै सिनेमा प्रदर्शन रोक्न निर्माताहरुसँग अपिल गरेको छ ।

सो आन्दोलनका कारण सिनेमाको रिलिज प्रभावित हुने भएपछि पदर्शोन्मुख केही चलचित्रका निर्माताले आफ्नो सिनेमाको प्रदर्शन मिति पछि सारेका छन् । केही चलचित्रका निर्माताहरु अन्यौलमा छन् ।

चलचित्र प्रदर्शन घर सञ्चालकहरुको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले संघबाट लिएको घरायसी बिदा सकिए लगत्तै उनी कार्यालय आउन थालेका छन् । उनले शनिबार नै संघको बैठक राखे । बैठकले निर्मातासँग बार्ताको लागि मिति समेत तय गरेर शनिबार नै प्रेस विज्ञप्ति निकालेको छ ।

त्यो प्रेस विज्ञप्तिमा क्युएफएक्स हल सञ्चालक भाष्कर ढुँगानाको संयोजकत्वमा १० जेठ भित्र निर्माताहरुसँग वार्ता गरिसक्ने उल्लेख गरेपछि प्रदर्शनको मुखमा रहेका चलचित्रका निर्माताहरु अझ अन्यौलमा परेका हुन् ।

निर्माता संघले २ जेठबाट हलमा सिनेमा नदिएर हलमा चलचित्र प्रदर्शन बन्द गराउने भनिरहेको बेला चलचित्र संघले १० जेठसम्म बार्ताको मिति तोकेको छ । सोही कारण हलवालाहरु अहिले पर्ख र हेरको पक्षमा छन् । निर्मातारुको आन्दोलनको स्वरुपपछि मात्र उनीहरु ठोस निष्कर्समा पुग्ने देखिन्छ । त्यसैले अब चलचित्र संघसँग १० जेठभित्र वार्ताको लागि पहल गर्नेकी २ जेठबाटै सिनेमा प्रदर्शन रोक्ने भन्ने निर्णय निर्माता संघले आईतबारमात्र सार्वजनिक गर्नेछ ।

तर २८ बैशाख, ४ जेठ र ११ जेठमा प्रदर्शन हुनलागेका नेपाली चलचित्रहरु यतीबेला अन्यौलसँगै अब के गर्ने भन्ने तनावमा छन् । २८ बैशाखमा रिलिज हुन लागेको चलचित्र हिरो रिर्टन्स्को टिमले निर्माताहरुको आन्दोलनलाई समर्थन गर्दै त्यो मितिमा प्रदर्शन स्थागित गरेको छ । यो सिनेमाको प्रदर्शन जेठको अन्तिम साता पुर्याईएको छ ।

४ जेठबाट प्रदर्शनमा आउन लागेको चलचित्र हैरान टिमले यो आन्दोलनका कारण आफुहरु पूर्ण अन्यौलमा रहेको बताएको छ । यो चलचित्रका अभिनेता, निर्माता गजित बिष्टले व्युटी न्युज नेपालको जिज्ञासामा भने,‘ २ जेठबाटै हल बन्द गर्ने भनेपछि अब के गर्ने भनेर हामी यतीबेला साँच्चै हैरान भएका छौं । त्यही पनि हामी फिल्मको प्रचार रोक्दैनौ र बार्ता मिल्यो भने ४ जेठमै हैरानलाई दर्शकमाझ ल्याउने छौं ।’

उनले अगाडि थपे,‘यदी पब्लिसिटी रोक्दा अन्तिम समयमा बार्ता मिल्यो भने झन हैरानमा परिएलाकी भनेर फिल्मको प्रचार हामीले रोकेको छैनौं । आन्दोलनप्रति हाम्रो पनि समर्थन भएकाले भोली हल बन्दसँगै सिनेमा रिलिज सार्नु पर्दा निर्माता संघबाट अर्को राम्रो मिति हामीले पाउने छौं भन्ने पनि विश्वास छ ।’ सोही कारण आफुहरुले हैरान भएर चुनौती मोल्दै यो चलचित्रको जोड तोडका साथ प्रचार गरिरहेको अभिनेता गजितले बताए ।

हैरान फिल्मको निर्माण पक्ष अब के होला भनेर हैरानमा भएको बेला चलचित्र ब्ल्याकको निर्माण टिम ११ जेठमा आफ्नो सिनेमा ल्याउने की नल्याउने भन्ने अन्यौलमा छन् । यसै प्रसँगमा व्ल्याकका निर्देशक प्रदीप श्रेष्ठले व्युटी न्युज नेपालसँग भने, ‘निर्माता संघले आन्दोलनको घोषणा गरेपछि हामी ११ जेठमा फिल्म लगाउने की नलगाउने भन्ने अन्यौलमा छौं र सोही कारण फिल्म ब्ल्याकको पब्लिसिटी पनि खुलेर गर्न पाएका छैनौं । अब फिल्म त्यो मितिमा ल्याउने की नल्याउने भन्नेबारे बितरकसँग छलफलपछि आईतबारमात्र तय गर्छौं ।’

यही कारण अहिले आफुहरुले ब्ल्याकको ट्रेलर रिलिज, बाँकी गीत रिलिज, मोफसल यात्रा लगायत थुप्रै प्रचार प्रसारको काम रोकेको पनि निर्देशक श्रेष्ठले बताए । निर्माताको हकका लागि भएको यो आन्दोलनलाई सकरात्मक रुपमा हेरेका निर्देशक प्रदीप २ जेठ अघि नै निर्माता र हल सञ्चालकहरुको बार्ता हुने र त्यसले सकरात्मक सन्देश ल्याउने आशामा छन् ।

११ जेठबाटै प्रदर्शनमा आउने चलचित्र सुनकेशरीकी निर्माता एवम् अभिनेत्री ऋचा शर्मा पनि यो आन्दोलनका कारण अन्यौलमा छिन् । त्यैपनि उनले आफ्नो चलचित्रको प्रचार रोकेकी छैनन् । प्रचार जोड तोडका साथ गरिरहेकी छिन् । उनी पनि पर्ख र हेरको अबस्थामा छिन् ।

१८ जेठ पछि प्रदर्शनमा आउने चलचित्रका निर्माताहरु अहिले प्रचारमा सुस्ताएका छन् । उनीहरुले प्रचार सुरु मात्र गरेपनि त्यसलाई बिस्तृतपूर्ण बनाएका छैनन् ।