चलचित्र गीत, छायाँकन मुस्ताङ हिट,


मुस्ताङमा छायाँकन गरिएका चलचित्रका गीतमध्य दुई तिहाई गीत हिट भएका छन्

व्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

अढाई दशक अघि अर्जुन श्रेष्ठ र मौसमी मल्ल अभिनित चलचित्र झुमाको बोल बोल पाखाहरु…गीतबाट मनाङमा छायाँकन गरिएको थियो । त्यो गीत निकै लोकप्रिय भयो । यसको दृष्य पनि दर्शकले खुबै मन पराए ।

त्यसपछि नेपाली चलचित्रको गीत मनाङ र मुस्ताङमा खिच्ने क्रम सुरु भएको हो । त्यो बेलादेखि अहिलेसम्म पनि यो क्रम जारी छ । पछिल्लो समय चलचित्रको गीत मनाङ भन्दा मुस्ताङमा छायाँकन गर्ने क्रम बढेको छ । यसरी मुस्ताङमा छायाँकन गरिएको बहुसँख्यक नेपाली चलचित्रको गीतहरु रुचाईएका छन् ।

यसै क्रममा पछिल्लो पटक एक महिना अघि चलचित्र ‘व्ल्याक’को एउटा गीति भिडियो रिलिज गरियो । मुस्ताङमै छायाँकन गरिएको यो भिडियो निकै महँगो बजेटको भएको निर्माण पक्षको भनाई छ । ब्ल्याको पल पल हर पल…गीतको भिडियोलाई युट्युबमा बुधबारसम्म नौ लाख ५० हजारपटक हेरिएको छ ।

११ जेठबाट प्रदर्शनमा आउने ब्ल्याकको यो गीत तयार गर्न २० लाख भन्दा माथि खर्च भएको निर्माण पक्षले जनाएको छ । यसका निर्देशक प्रदीप श्रेष्ठका अनुसार गीतमा मुस्ताङका दृष्यलाई भरपुर भिएफएक्स गरेर अझ सुन्दर र प्राकृतिकमय बनाईएको छ ।

गीतमा आकाश श्रेष्ठ र आँचल दवाडीको अभिनय समेटिएको छ । पल पल हर पल…गीतलाई मुस्ताङको दृष्यले निकै सुन्दर बनाएको छ । सोही कारण पनि गीतलाई हेर्ने दर्शकको सँख्या बिस्तारै युट्युवमा बढीरहेको छ ।

मुस्ताङमा गीत छायाँकन गर्ने क्रम पछिल्लो समय मौलाएको छ । दुई वर्ष अघि भुवन केसी निर्मित फिल्म ड्रिम्सको गीत म के भनौं…को छायाँकन मुस्ताङमा गरिएको यिथो । अनमोल केसी र सामाज्ञ राज्यलक्ष्मी शाहको अभिनय रहेको यो गीतमा मुस्ताङका विभिन्न सुन्दर दृष्य समेटिएको थियो । जसको कारण यो गीतलाई ४४ लाख पटक दर्शकले युट्युवमा हेरिसकेका छन् । यो गीतको दृष्यलाई दर्शकले रुचाएपछि मुस्ताङमा नेपाली चलचित्रको गीत छायाँकन गर्ने क्रम ह्वात्तै बढेको हो ।

मुस्ताङमा खिचिएको मध्य सर्वाधिक मन पराईएको गीत हो तिमी रोएको पल…। चलचित्र ऐश्वर्यको यो गीत ८ महिना अघि भिडियो सञ्जाल युट्युवबाट रिलिज गरिएको थियो । रमेश उप्रेती र दीपिका प्रसाईको अभिनय रहेको यो गीतको छायाँकनमात्र ६ दिन लागेको र २० लाख भन्दामाथिको बजेट खर्च भएको निर्माण पक्षको भनाई छ । तिमी रोएको पल…लाई अहिलेसम्म युट्युवमा दर्शकले एक करोड ५८ लाख पटक हेरिसकेका छन् । मुस्ताङमा छायाँकन भएको मध्य अहिलेसम्म सबैभन्दा बढी पटक युट्युवमा हेरिएको चलचित्र गीत पनि यही हो ।

यस्तै चलचित्र म यस्तो गीत गाउँछुको गीत भन्छु आज मनका कुरा…एक वर्षअघि निर्देशक सुदर्शन थापाले रिलिज गरेका थिए । यो गीतको भिडियो पनि तल्लो र उपल्लो मुस्ताङमा छायाँकन गरिएको हो । यो गीतलाई पनि एक करोड ४८ लाख भन्दा बढी पटक दर्शकले युट्युवमा हेरिसकेका छन् । यो गीत आकर्षक हुनुमा मुस्ताङको सुन्दरताको पनि महत्वपूर्ण भूमिका भएको निर्देशक सुदर्शन थापाले बताएका थिए ।

म यस्तो गीत गाउँछु चलिचत्रकै अर्को गीत किन आजकाल…को पनि केही प्रतिसत छायाँकन मुस्ताङमा गरिएको यिथो । यो गीत पनि युट्युवमा एक लाख १५ हजार भन्दा बढीपटक हेरिएको छ ।

यस्तै सायद–२, रुद्र, कान्छी लगायत चलचित्रका गीत पनि मुस्ताङमा छायाँकन गरियो । यी गीत भने बाँकी गीतको तुलनामा चलेनन् । तथापि दृष्यका कारण गीतलाई केही मात्रामा भएपनि दर्शकले युट्युमा रुचाए । अरु ठाउँमा छायाँकन गरिएका गीत भन्दा यी गीतको भिडियो राम्रो बनेको छ र केही मात्रामा भए पनि भिडियो मन पराईएको निर्माण पक्षको भनाई छ ।

मुस्ताङका सुन्दर दृष्यले चलचित्रको गीति भिडियोलाई अझ मनोरम तुल्याउने गरेको छ । त्यसैले आजकाल नेपाली चलचित्रको गीत महँगो खर्च गरेर भए पनि मुस्ताङका राता एवम् खैरा पठ्ठार, डाँडा, खोल्सा र कालिगण्डकीका बगरमा खिच्ने क्रम फेशन जस्तै बनेको हो ।