अभिनयका गुरु अभिनेता अनुप अप डन्डीबियोका गुरु


काठमाडौं, २० बैशाख

दुई दशक देखि अभिनय सिकाएर कलाकार जन्माउँदै आएका चलचित्र अभिनेता अनुप बराल अब दर्शकमाझ डन्डीबियोका प्रशिक्षकको रुपमा प्रस्तुत हुने भएका छन् । २१ बैशाख (शुक्रबार)बाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘डमरुको डन्डीबियो’मा उनी डन्डीबियोका प्रशिक्षकका रुपमा प्रस्तुत भएका छन् ।

‘बाल्यकालमा पोखरामा धेरै नै डन्डीबियो खेलिएको थियो । तर सही रुपमा डन्डीबियो खेल्न र खेलाउन चलचित्र डमरुको डन्डीबियोको क्रममा मात्र जानियो ।’ अभिनेता अनुपले भने,‘डन्डीबियोको पनि आफनै नियम र काईदा हुँदो रहेछ । यो खेल्नका लागि फुटबल र अरु खेलको जस्तै कडा व्यायाम समेत गर्नु पर्दो रहेछ ।’\

यो चलचित्रमा उनी सुरुमा गाउँको एउटा स्कुलको शिक्षकको भूमिकामा छन् । आफ्नै छोराले डन्डीबियो खेल्न च्यालेन्ज गरेपछि उनी डन्डीबियो प्रतियोगितामा मैदानमा उत्रन्छन् । प्रतियोगिताकालागि आफ्नो समुहलाई बलियो बनाउन उनी यो चलचित्रमा प्रशिक्षकको भूमिकामा छन् । चलचित्रमा डन्डीबियोका मुख्य खेलाडीमा खगेन्द्र लामिछाने, बुद्दी तामाङ, मेनुका प्रधान, अंकित खड्का, लक्ष्मी बर्देवालगायत छन् ।

चलचित्र अभिनय प्रशिक्षक र डन्डीवियो प्रशिक्षकको भूमिका अन्तरबारे व्युटी न्युज नेपालको जिज्ञासामा अभिनेता अनुप बरालले भने,‘अभिनय सिकाउनु र डन्डीबियो सिकाउन उस्तै जस्तो देखिने भए पनि अभिनयको तुलनामा डन्डीबियो सिकाउन गाह्रो लाग्यो । तथापि बाल्यकालदेखि पोखरामा डन्डीबियो खेलेको र चलचित्रको छायाँकन अघि डन्डीबियो र यसको नियम करिब एक महिना सिकेकोले प्रशिक्षकको भूमिका राम्रैसंग निभाएको छु ।’

छेतेन गुरुङले निर्देशन गरेको चलचित्र डमरुको डन्डीबियोलाई बिनोद गुरुङले निर्माण गरेका हुन् । एक करोड ५० लाख भन्दा बढी बढेको यो चलचित्र खेल जनरामा तयार भएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र मुलुकका करिब ६ दर्जन सिनेमा हलबाट शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।