हैरानको नृत्य, अभिनय र गायन प्रतियोगिता,


बिजेतालाई जनही एक लाख

काठमाडौं, १९ बैशाख

आगामी ४ जेठबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र ‘हैरान’ टिमले ‘हैरान च्यालेन्ज’ अन्तर्गत ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्ने भएको छ । नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजी गर्न लागिएको हो ।

तिन ओटै विधाका विजेताले जनही १ लाख रुपैयाँ र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अभिनयको अवसर प्राप्त गर्नेछ । उत्कृष्ट १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने हैरान टिमले जनाएको छ । छनौट चरणमा प्रतियोगीले एउटा हैरानकै र अर्को आफुलेनै छनौट गरेको गीतमा दुई, दुई मिनेटमा आफ्नो प्रस्तुति दिनुपर्नेछ ।

प्रतियोगिताका निर्णायकमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, स्वरुपराज आचार्य, निर्मल शर्मा, सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट छन् ।

२० वैशाखबाट झापादेखि सुरु हुने अडिसनकालागि हैरान युनिट बुधबार झापा पुगेको छ । फिल्मका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट, निर्मल शर्मा, सगार लम्साल, आरोही शर्मा यही अभियानकालागि मोफसल यात्रामा निस्किएका हुन् ।

टिमले २० बैशाखमा झापाको विर्तामोडवाट अडिसन सुरु गर्दै छ । यसपछि २१ बैशाखमा विराटनगर, २२ बैशाखमा हेटौंडामा, २३ बैशाखमा चितवनमा, २४ बैशाखमा बुटवलमा, २५ बैशाखमा नेपालगञ्जमा, २६ बैशाखमा दाङमा, २७ बैशाखमा पोखरामा, २८ र २९ बैशाखमा काठमाडौंमा अडिसन गर्नेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्ने अभिनेता गजित बिष्टले जानकारी गराए ।

हैरानलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । आफ्नो पहिलो ‘लभ यु बाबा’ मार्फत सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । डान्स फेभरको ब्यानरमा निर्मित यो चलचित्रलाई मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा, सम्झना पोखरेलले निर्माण गरेका हुन् ।