गोपिमा खगेन्द्र र सुरक्षाको जोडी


काठमाडौं, १९ बैशाख

धनपति पछि अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त पुन चलचित्रमा जोडी बनेर आउँदैछन् । चलचित्र ‘गोपि’मा यी दुई जोडी बनेर प्रस्तुत हुन लागेका हुन् । चलचित्रको कथाबस्तु राम्रो भएकाले आफुहरुले अभिनय गर्न लागेको यी जोडीले बताएका छन् ।

चलचित्र घामपानीका निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र गोपिमा खगेन्द्र र सुरक्षालाई लिएका हुन् । बुधबार राजधानीमा एक समारोहबीच उनले आफ्नो नयाँ चलचित्र ‘गोपी’को निर्माण घोषणा गरे ।

सामाजिक एवम् पारिवारिक कथामा आधारित यो चलचित्रको आगामी भदौबाट छायाँकन सुरु हुने पनि निर्देशक लामाले जानकारी गराए । चलचित्रमा खगेन्द्र र सुरक्षासँगै अँकित खड्का, प्रकाश घिमिरे लगायतको अभिनय रहने छ ।  बाँकी कलाकार केही दिनमै चयन गर्ने पनि निर्देशक लामाले बताए ।

सञ्चारकर्मी श्रीधर पौडेलले यो चलचित्रमा लगानी गर्दैछन् । चलचित्रको अर्को निर्मातामा आरोही केसी छिन् । आफु चलचित्र पत्रकारितामा लागेको र चलचित्र निर्माण गर्न चाहना भएकाले गोपी मार्फत निर्माणमा आएको श्रीधरले बताए ।

यो चलचित्रलाई सञ्चारकर्मी सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् । गोपिको छायाँकारमा शैलेन्द्रध्वज कार्की, सम्पादकमा निमेष श्रेष्ठ, निर्माण नियन्त्रकमा शँकर पाण्डे छन् ।