काठमाडौं, १७ बैशाख

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको चलचित्र ‘रामकहानी’को पहिलो गीत सोमबार राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ ।

सो चलचित्रकी अभिनेत्री एवम् निर्माता पुजा शर्माको जन्मदिनको अबसर पारेर सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नयाँ गीत तिम्रो लागि म छु….को भिडियो रिलिज गरिएको हो ।

अर्जुन पोखरेलको शब्द संगीत रहेको यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पुजा शर्मा लगायतको अभिनय छ ।

चलचित्र रामकहानीलाई निर्देशक सुदर्शन थापा र अभिनेत्री पुजा शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् । आकाश र पुजासँगै यो चलचित्रमा जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), विल्सनबिक्रम राई (तक्मे बुढा) लगायतको अभिनय छ ।

चलचित्रका लेखक निर्देशक सुदर्शन थापा हुन् । हास्य प्रधान यो चलचित्र प्रेमकथामा आधारित रहेको निर्देशक सुर्दशनले कार्यक्रममा बताए ।