इलामबाट अनमोलको ‘क्याप्टेन’ सुरु


इलाम, १७ बैशाख

चर्चित अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको छायाँकन इलामबाट सुरु भएको छ । यो चलचित्रको आईताबारदेखि इलामबाट छायाँकन सुरु गरिएको यसका निर्माता भुवन केसीले जानकारी गराएका छन् ।

केसीको अनुसार इलाममा बढीमा तीन दिनको छायाँकन सकेर युनिट फेरी काठमाडौं फर्कने छ । बाँकी छायाँकन आगामी जेठको पहिलो साताबाट काठमाडौंदेखि हुने पनि निर्माता भुवन केसीले जानकारी गराएका छन् ।

चलचित्रको कथा अनुसार अनमोल केसी यो फिल्ममा राष्ट्रिय फुटबल टिमका खेलाडीको भूमिकामा छन् । उनले विभिन्न टुर्नामेन्ट र गोल्डकप जित्दै राष्ट्रिय र अन्तराष्ट्रिय खेल खेल्नु पर्ने भएकाले अहिले इलाममा जारी ‘माइभ्याली गोल्डकप’ मा अनमोललाई खेलाडीको रुपमा प्रस्तुत गरिँदैछ ।

 

सोही दृष्यका लागि चलचित्र युनिट इलाम आईपुगेको हो । अनमोलसँगै यहाँ जारी खेलका खेलाडीलाई पनि अब क्याप्टेनमा देख्न पाईने छ । क्याप्टेनको निर्देशन दीवाकर भट्टराईले गरिरहेका छन् । अनमोलसँग यो चलचित्रमा दुई नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीको पनि अभिनय देख्न पाईने छ । उनीहरु पनि इलाम आईपुगेका छन् ।

राजधानीको सातदोवाटो स्थित एन्फाको प्रशिक्षण केन्द्रमा एक महिना लामो फुटबलको प्रशिक्षण लिएपछि अनमोल केसी खेलाडीको रुपमा छायाँकनमा उत्रिएका हुन् । उनको गुरुको रुपमा रहेका सरोज खनालले पनि अनमोलसँगै फुटबलको प्रशिक्षण लिएका छन् । फिल्ममा अनमोल राष्ट्रिय फुटबल टिमको क्याप्टेन हुनेछन् । उनले अन्तराष्ट्रिय खेल पनि खेल्ने छन् ।