मुम्बई,एजेन्सी, १६ बैशाख

बलिउड अभिनेत्री माधुरी दीक्षित यतीबेला एकसाथ तीन फिल्मको सुटिङमा व्यस्त छिन् । सोही कारण एकै दिनमा उनले तीन ओटा फिल्मको सुटिङ भ्याउनु परेको छ । केही समय यताबाट फिल्म नखेलेकी यी अभिनेत्रीलाई एक पछि अर्को राम्रो फिल्ममा काम गर्ने प्रस्ताव आएपछि उनले नाई भन्न सकिनन् । त्यसैले आफुले एकसाथ तीन सिनेमाको सुटिङमा समय दिनु परेको यी अभिनेत्रीको भनाई छ ।

२१ वर्षपछि माधुरीले सञ्जय दत्तसँगै काम गर्न लागेको फिल्म ‘कलंक’को आईतबारबाट सुटिङ सुरु भएको छ । करण जौहरको यो फिल्ममा माधुरीसँग बरुण धवन, सोनाक्षी सिन्हा र आलिया भट्टको पनि अभिनय छ ।

माधुरीकै अर्को फिल्म ‘टोटल धमाल’को पनि सुटिङ चलिरहेको छ । यो फिल्मलाई इन्द्रकुमारले निर्देशन गरेका हुन् । इन्द्र कुमारकै फिल्म ‘बेटा’मा अनिल कपुर र माधुरीको जोडीलाई दर्शकले मन पराएका थिए । टोटल धमालमा पनि अनिल र माधुरीको जोडीलाई दर्शकले देख्ने छन् ।

आगामी २५ मेमा रिलिज हुने एउटा मराठी फिल्ममा पनि माधुरी दीक्षित छिन् । त्यो आफ्नो पहिलो मराठी फिल्म भएको माधुरीले बताएकी छिन् । सो फिल्मको पनि सुटिङ आफुले गरिरहेकाले अहिले एकै दिनमा तीन फिल्मको सुटिङ फरक फरक समयमा भ्याउनु परेको माधुरीको कथन छ । जसका कारण राम्ररी सुत्न समेत समय नमिलेको यी अभिनेत्रीले बताएकी छिन् ।