टर्कीमा मन पराईयो नेपाली लोकनृत्य


काठमाडौं, १६ बैशाख

एभरेष्ट नेपाल कल्चरल ग्रुपले टर्कीको चनाक्काले शहरमा विभिन्न नेपाली लोक नृत्य प्रस्तुत गरेको छ । टर्कीको चनाक्काले शहरमा चनाक्काले नगरपालिकाले आयोजना गरेको ‘अन्तराष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला’मा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चर ग्रुपले नेपाली लोक नृत्य एवम् गायन प्रस्तुत गरेको हो । मेलामा सहभागीलाई नेपाली नृत्य निकै मन परेको थियो ।

विश्वका २० राष्ट्रका ३५ समुहले भाग लिएको सो मेला २० अप्रिलदेखि २६ अप्रिलसम्म चलेको थियो । मेलामा सहभागी भएर आफुहरु शनिबार काठमाडौं फर्किएको एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र (आर.सी.) कोईरालाले जानकारी गराएका छन् ।

सो ग्रुपकी निर्देशक सीतल आचार्यको संयोजनमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको पनि कोईरालाले जानकारी गराए । उनका अनुसार मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनि, धिमाल, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो ।

मेलामा ग्रुपका प्रमुख रामचन्द्र (आर.सी.) कोइराला, निर्देशकहरु सितल आचार्य, प्रदीप तिमील्सिना, नृत्य निर्देशक जोगेन्द्र के.सी., लालीगुरांश स्कुलको तर्फबाट विद्यार्थीहरु जेनिश तमाङ, रुबी परियार, खुशी रामदाम, सृष्टी देवकोटा, हिमानी थापा मगर, प्रतिशा लामा, छोदेन लामा, युद्धजङ्ग थापामगर, सोनिका बास्तोला, सुबिका महर्जन, इशा सुनुवार लगायत बालकलाकारहरु सहभगी भएका थिए ।

सोही अवसरमा ग्रुपका निर्देशक सितल आचार्यले चनाक्काले शहरका नगरपालिका प्रमुख, उपस्थित दर्शक तथा आयोजकलाई भेटेर नेपालमा सांस्कृतिक पर्यटन प्रबर्दन गर्न सकिनेबारे जानकारी गराईन् । उनले सबैलाई नेपाल आउन निम्ता पनि गरिन् ।

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाइ बिश्वभर नेपाललाई चिनाउने र नेपाली संस्कृति मार्फत बिश्वभर राजदुतको काम गर्न आफुहरु यो मेलामा सहभागी भएका ग्रुपका कलाकारहरुले बताए ।