अनमोल र बेनिशा सर्वोत्कृष्ट अभिनेता अभिनेत्री


एनएफडिसी राष्ट्रिय पुरस्कारमा शत्रु गते सर्वोत्कृष्ट चलचित्र

व्युटी न्युज नेपाल व्युरो,
काठमाडौं, १३ बैशाख

बैशाखको मुसलधारे पानीले स्टेजनै बिथोलिए पनि ‘छैटौं एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४’ सम्पन्न भएको छ । बिहिबार साँझ काठमाडौंको सुविधासम्पन्न पाँच तारे होटल हायातको प्राँगनमा आयोजना गरिएको अवार्ड समारोहलाई वर्षाकै कारण सुरुमा स्थगित गरिएको थियो ।

निरन्त वर्षले स्टेज बिग्रनुका साथै एलईडी लाईट ब्याक ड्रप समेत सर्ट भएर निभ्दा पनि आयोजक पक्षले अवार्ड सम्पन्न गरेरै छाडेको छ । निकै धुमधामका साथ सुरु भएको पुरस्कार समारोहलाई वर्षाले पूर्ण बाधा पारेपछि अन्तत रक्स बारको लबीमा सामान्य रुपमा पुरस्कार प्रदान सहित सम्पन्न गरिएको छ ।

समारोहमा पुरस्कार तर्फ मह सञ्चारद्धारा निर्मित चलचित्र ‘शत्रु गते’ पाँच विधामा आवार्ड चुम्दै सर्वोत्कृष्ट फिल्म बन्न सफल भएको छ । यो चलचित्र अहिले छैटौं हप्तामा प्रदर्शन भईरहेको छ । यस पटकको ‘हिरा सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र शत्रु गतेले जितेको हो ।

नेपाल चलचित्र विकाश कम्पनीद्धारा आयोजित एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा विभिन्न २० विधामा प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत ‘प्रकाश सर्वोत्कृष्ट, निर्देशक राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र लिली बिलीबाट निर्देशक मिलन चाम्सले प्राप्त गरे । निर्देशक सहित लिली बिलीले विभिन्न चार विधामा पुरस्कार जित्यो । लिली बिली यतीबेला तेस्रो सातामा प्रदर्शन भईरहेको छ ।

यस्तै, अभिनेतातर्फ ‘शिव सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ‘कृ’बाट अनमोल केसीले प्राप्त गरे । अभिनेत्रीतर्फ ‘भुवन सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ‘ब्लाइन्ड रक्स’ अभिनेत्री बेनिशा हमालले चुमिन् ।

अभिनेत्री बेनिशा हमाल पुरस्कार लिँदै, तस्बिर सौजन्य ः मेरो फिल्म

‘विश्व सर्वोत्कृष्ट नव अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ग्याङस्टार ब्लुजबाट आशिरमान देशराज जोशीले, ‘चैत्य सर्वोेत्कृष्ट नव अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र लिली बिलीबाट जसिता गुरुङले जिते ।

यस्तै ‘गोपालराज, सर्वोत्कृष्ट हास्य कलाकार, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र छक्का पञ्जा–२ बाट केदार घिमिरेले हासिल गरे । ‘नीर सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ऐश्वर्यबाट प्रशान्त ताम्राकारले, ‘वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार’ ऐश्वर्यबाटै केकी अधिकारीले प्राप्त गरिन् ।

संगीततर्फको प्रतिस्पर्धामा ‘शम्भुजित सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र २ रुपैयाँको कुटुमा कुटु…गीतबाट राजनराज शिवाकोटीले, ‘उदित सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ऐश्वर्यको तिमी रोएको पल…बाट अन्जु पन्तले हासिल गरिन् । ‘किरण सर्वोत्कृष्ट गीतकार, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र ए मेरो हजुर–२ को गीत कसम हो कसम…बाट डा. कृष्णहरि बरालले चुमे ।
‘वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र २ रुपैयाँको कुटुमा कुटु…गीतको नृत्य निर्देशनबाट कविराज गहतराजले, ‘भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र कृबाट चन्द्र पन्तले प्राप्त गरे ।

यस्तै, ‘शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र लिली बिलीबाट एलिस कार्की र ‘प्रदीप सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण (मिक्सिङ) राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र शत्रु गतेबाट अमित श्रेष्ठले जिते ।

पाश्र्व संगीतको पुरस्कार लिँदै एलिस कार्की

‘चेतन सर्वोत्कृष्ट पटकथा लेखक राष्ट्रिय चलचित्र पुरस्कार’ चलचित्र शुत्र गतेबाट दीपकराज गिरी र प्रदीप भट्टराईले, ‘लक्ष्मी सर्वोत्कृष्ट कथा र संवाद राष्ट्रिय चलचित्र पुरस्कार’ शत्रु गतेबाटै हरिवंश आचार्य र प्रदीप भट्टराईले, ‘तुलसी सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार’ शत्रु गतेबाट मित्रदेव गुरुङले हासिल गरे ।

यो वर्षको ‘मह जुरी राष्टिय चलचित्र पुरस्कार चलचित्र भुईं मान्छेबाट अभिनेता रमेश बुढाथोकीले र ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार’ चलचित्र छक्का पञ्जा–२ ले हाँसिल ग¥यो ।

बरिष्ट पत्रकार पुष्कारलाल श्रेष्ठबाट पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार फुलमान बल

‘पुष्कर चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार’बाट पत्रकार फुलमान बललाई पुरस्कृत गरियो । उनी कान्तिपुर दैनिकका बरिष्ट उप सम्पादक हुन् ।