कक्षा ९ मा चलचित्र झोलाको अध्ययन ः विधार्थीलाई फिल्म समीक्षा शिक्षा


काठमाडौं, १३ बैशाख

चलचित्रकर्मीले नेपाली चलचित्रलाई स्कुलदेखि कलेजसम्मको पाठ्यक्रममा समेट्नु पर्ने माग उठाउँदै आएको बेला त्यो मागलाई पाठ्यक्रम विकाश केन्द्रले केही मात्रामा भए पनि सुनुवाई गरेको छ ।


सोही माग अनुसार नेपाली चलचित्रलाई स्कुलदेखि कलेज स्तरको सम्मको पाठ्यपुस्तकमा राख्न थालिएको छ । यसै क्रममा पाठ्यक्रम बिकाश केन्द्रले कक्षा ९ को अनिबार्य अँग्रेजीमा नेपाली चलचित्र झोलालाई समेटेको छ । सो बिषयको युनिट १३ को ‘एक्प्रेसिङ कँग्राचुलेसन्स्’ पाठमा ‘मूभि’ अन्तर्गत चलचित्र झोलालाई समेटिएको हो । पेज नं. १४८ र १४९ मा चलचित्रलाई हेर्ने, अध्ययन गर्ने र त्यसको समीक्षा गर्ने तरिका सिकाउँदै चलचित्र झोलाको समीक्षा समेत गरिएको छ ।

‘ए स्पेसिमेन्ट अफ मूभि रिभ्यु अन झोला’ शिर्षकमा यो चलचित्रको समीक्षा गरेर विधार्थीलाई चलचित्र हेर्ने र समीक्षा गर्ने तरिका सिकाईएको हो । नेपाली शिक्षालाई प्रयोगात्मक र व्यवहारिक बनाउन परिमार्जत गरिएको पाठ्यक्रममा यसरी झोला मार्फत चलचित्रलाई पनि स्थान दिइएको छ ।

चलचित्र समीक्षा गर्न सिकाउने क्रममा चलचित्रको नाम, निर्देशकको नाम, कलाकार, निर्माता, प्राविधिकको नाम, जनरा, चलचित्रको अबधि, चलचित्रको भाषा, प्रदर्शन मिति, यसको कथा, परिवेश, पात्रको अभिनय क्षमता, चलचित्रको सकरात्मक पक्ष, कमजोर पक्ष जस्ता विविध कुरा यसमा समेटिएको छ । यो पाठ पढेपछि केही मात्रामा भए पनि विधार्थीहरुले चलचित्र हेरेर यसको समीक्षा गर्न सक्ने देखिन्छ ।

यसै वर्षबाट मानविकी शास्त्र अन्तर्गत स्नातककोत्तरमा नेपाली बिषयमा नेपाली चलचित्र तथा चलचित्रको अध्ययनलाई ऐक्षिक रुपमा राखिएको छ । यो वर्षबाट एमएको नेपाल बिषयमा नेपाली चलचित्रको पढाई सुरु हुन थालेको छ ।