बग्गीमा ह्याप्पी डेजका जोडी, सडकमा दर्शक अचम्मित


काठमाडौं, १० बैशाख

सोमबार विवाहको लगन थिएन । तर विवाहको लागि झैं सजिएको बग्गी बाजा सहित सडकमा गुड्दा जो कोही पनि अचम्ममा परेका थिए ।

हो, चलचित्र ह्याप्पी डेजको प्रचारका लागि निर्माण टिमले सोमबार बिहान ललितपुरको जाउलाखेलबाट काठमाडौंको भृकृटी मण्डपसम्म बग्गी यात्रा आयोजना गर्यो ।

सो बग्गीमा चलचित्र ह्याप्पी डेजका अभिनेता संजय गुप्ता, अभिनेत्री प्रियँका कार्कीको जोडी देख्न पाईयो । साथमा निर्देशक मिलन चाम्स पनि बग्गीमा गुडेका थिए । १४ बैशाखबाट दर्शकमाझ आउन लागेको चलचित्रलाई प्रचार शैलीमा नयाँ पन दिन बग्गी यात्रा गरिएको हो । तर अभिनेता दयाहाङ राई यसको प्रचारका लागि रथ यात्रामा सहभागी भएनन् ।

भृकुटी मण्डपमा सञ्चारकर्मीसँग केही बेर फिल्म ह्याप्पी डेजको कुराकानी गरेपछि सो यात्रा त्यहाँबाट पुन सुरु भएको थियो । भृकुटी मण्डपबाट नयाँ बानेश्वर, कोटेश्वर, बालकुमारी, ग्वार्कोहुँदै सात दोवाटो पुगेर सो यात्रा सम्पन्न भएको हो ।

एक दशक अघिसम्म रिक्सामा चढेर माईकिङ गर्दै नेपाली चलचित्रको प्रचार गरेको शैलीलाई अपनाएको ह्याप्पी डेजको प्रचार पनि त्यसैगरी गरिएको छ । सोमबार कलाकार र निर्देशकलाई बग्गीमा राखेर गरिएको शहर यात्रामा पनि यो चलचित्रको पारम्पारिक प्रचार शैलीलाई अपनाईएको थियो ।

ह्याप्पी डेजको एक दृष्यमा दयाहाङ र प्रियँका

पुरानो भए पनि गाउँ शहरमा माईकिङ गर्दा त्यसको प्रभाव सबैमा पुग्ने भएकाले आफुले यो शैली अपनाएर चलचित्र ह्याप्पी डेजको प्रचार गरेको निर्देशक मिलन चाम्सले बताए । यो यात्रालाई दर्शकले मन पराएको पनि उनले जिकिर गरे ।