२ जेठका हल बन्द गर्ने निर्माताको चेतावनी, यसकारण आन्दोलनमा उत्रँदै


व्युटी न्युज नेपाल व्युरो
काठमाडौं, ९ बैशाख

काठमाडौं र मोफसलका सिनेमा हलमा चलचित्र प्रदर्शन गरेपछि प्राप्त हुने रकमबाट आफुहरुलाई हलवालाले दिने रकम न्यायसँगत नभएको भन्दै चलचित्र निर्माताहरुले आन्दोलन घोषणा गरेका छन् । यस्तो टिकट बिक्रीबाट हाल पहिलो साता ५० प्रतिसत शेयर पाएका छन् । अब पहिलो साता ५५ देखि ६० प्रतिसत शेयर पाउनु पर्ने निर्माताहरुको माग छ ।

हाल पहिलो साता ५० प्रतिसत शेयर पाए पनि त्यसपछिका साताहरुमा हल सञ्चालकहरुले शेयर घटाएर आफुहरुलाई पैसा दिने गरेका कारण आन्दोलनको घोषणा गरेको निर्माताहरुले बताएका छन् ।

नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालले हलबाट आफ्नो सिनेमाहरुलाई प्राप्त हुने शेयर न्यायसँगत गर्न हलवालासँग माग गरेका छन् । आफ्ना माग पुरा नभए आगामी २ जेठबाट मुलुकभरका सिनेमा हलमा स्वदेशी र बिदेशी कुनै पनि सिनेमा प्रदर्शन गर्न नदिने चेतावनी निर्माताहरुको छ ।

नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालको शनिबार राजधानीमा सँयुक्त छलफल पछि उनीहरुले यस्तो घोषणा गरेका हुन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारकिा अनुसार शनिबारको भेलाले सेयर बाँडफाँडमा २३ साउन २०६० सालमा चलचित्र संघसंग निर्मात संघले गरेको सम्झौता पुनरावलोकनका लागि जोड दिएको छ । उसबेला ४२ दिनको अनवरत आन्दोलन पश्चात निर्माता संघ र चलचित्र संघकाबीच भएको सम्झौताको बुँदा नम्बर १ मा यस्तो लेखिएको थियो,‘काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात उठेको कूल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता÷वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले सेयर रकम लिने दिने सहमति भयो ।’

पुरानो सम्झौता कार्यन्वयनको माग
यही सम्झौतामा भएको तथा माथी उल्लेखित बुँदाको काठमाडौं उपत्यका भन्ने शब्दको सट्टामा नेपालभरी भन्ने शब्द समावेश गरी अक्षरस कार्यान्वयन हुनु पर्ने निर्णय शनिबारसम्पन्न निर्माताहरुको भेलाले गरेको छ । यसका अतिरिक्त चलचित्र घरमा बजाइने ट्रेलर, पोष्टर, स्थानीय पब्लिसिटी खर्चहरु लगायत अन्य मागहरु चलचित्र संघसंगको छलफलमा निर्णय गर्नेपनि संघको भेलाले निर्णय गरेको छ ।

 

निर्माताहरु यसकारण आन्दोलनमा उत्रँदै
केही वर्ष याताबाट काठमाडौं देखि मोफसलसम्मका सिनेमा हलमा नेपाली चलचित्रका निर्माताले आफ्नो सिनेमा चलाउँदा पहिलो साता कर काटेर बचेको रकमबाट ५० प्रतिसत शेयर पाउँछन् । त्यसपछि दोस्रो साता ४५ प्रतिसत, तेस्रो साता प्रदर्शन हुँदा ४२ प्रतिसत, चौथो साताबाट ३५ प्रतिसत शेयर र त्यसपछि ३० प्रतिसत शेयर पाउने गरेका छन् ।

पहिलो साता बाहेक त्यसपछिको सातामा सिनेमा हलमा दर्शक हाउसफुल भए पनि निर्माताले पाउने शेयर घट्दै जान्छ । यही असमानताका कारण निर्माताहरुले दोस्रो साताबाट हलमा टिकट बिक्रीको शेयर कर काटेर आफुहरुले आधा पाउनु पर्ने माग उठाएका हुन् । बरु सिनेमाको व्यापार काम छ भने हलल आफ्नो फिल्म हटाएर अरु फिल्म लगाउन पाउने तर आफ्नो सिनेमा प्रदर्शन हुन्जेल कुल व्यापारको कर काटेर दोस्रो सातापछि जति साता चले पनि आधा रकम पाउनु पर्ने उनीहरुको माग छ । माग पुरा नभए उनीहरु आन्दोलनमा जाने छन् ।

 

यस्तो छ निर्माताहरुको चेतावनी
नेपाल चलचित्र निर्माता संघका तर्फबाट महासचिब रोज राणाले ९ बैशाखसाँझ एक प्रेस विज्ञप्ति जारी गर्दै बिज्ञप्ति मार्फत यस्तो चेतावनी हल सञ्चालकहरुलाई दिएका छन्,‘यदि जेष्ठ १ गतेको समयावधि भित्रमा सिनेमा भवनहरुको संगठित संस्था नेपाल चलचित्र संघबाट हाम्रा मागहरु पुरा नभएको खण्डमा नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी चलचित्रहरुको सार्वजनिक प्रदर्शनमा रोक लगाइ संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरी आन्दोलनमा उत्रन वाध्यहुने छौं ।’

 

चलचित्र संघका अध्यक्ष बिदामा
हल वालाहरुको संस्था नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय आफ्नो नीजि कामको कारणले गर्दा केही दिन बिदामा छन् । जसका कारण निर्माताहरुले घोषणा गरेको आन्दोलन र उनीहरुको माग बारे आईतबारसम्म नेपाल चलचित्र संघमा छलफल हुन सकेको छैन । संघका अध्यक्ष प्रदीप उदय बिदाबाट फर्किएपछि कार्यसमितिको बैठक बसेर निर्माताहरुको माग र आन्दोलनबारे छलफल गर्ने नेपाल चलचित्र संघको सचिवालयले जनाएको छ ।

 

बक्स अफिसलाई बाधा पर्ने सँभावना
नेपाल सरकार, सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको पहलमा चलचित्र विकाश बोर्डले १० बैशाखबाट काठमाडौं उपत्यकाका सिनेमा हलमा परिक्षणको रुपमा बक्स अफिस प्रणाली लागू गर्दैछ । तर काठमाडौं उपत्यकाको क्युएफएक्स लगायत केही सिनेमा हलले यो प्रणालीको सरवर जडान गर्न आनाकानी गरेको बोर्डले जनाएको छ । यही तथ्यलाई मध्यनजर गदै नेपाल चलचित्र निर्माता संघको शनिबारको भेलाले बक्स अफिस लागू गर्नेबारे पनि आबाज उठाएको छ ।
निर्माता संघले जारी गरेको विज्ञप्तिमा बक्स अफिसबारे लेखिएको छ,‘बक्स अफिस कार्यान्वयन सम्बन्धमा नेपाल सरकारले तोकेको समयसीमा भित्रमा पारदर्शी सहितको बक्स अफिस कार्यान्वयनका लागि राज्यलाई जोडदार माग गर्दै संस्थागत सहयोग गर्ने ।’

यसरी हलको शेयर बाँटफाँटमा निर्माता र हलवालाबीच बिस्तारै बिबाद चर्कने स्थिति देखिएकाले यसको असर बक्स अफिस प्रणाली सञ्चालनमा पर्ने हो की भन्ने चिन्ता चलचित्र विकाश बोर्डलाई छ ।