मनिषाले लेखिन आत्मकथा, पेन्गुइनले बजारमा ल्याउँदै


काठमाडौं, ८ बैशाख

बलिउड अभिनेता अभिनेत्रीले आत्मकथा लेखेर बायोपिक पुस्तक ल्याउने क्रम जारी छ । यसै क्रममा अभिनेत्री मनिषा कोईरालाले पनि आफ्नो बायोपिक ल्याउने भएकी छिन् ।

करिब दुई वर्ष लगाएर उनले आफ्नो बायोपिक पुस्तक तयार गरेकी हुन् । काठमाडौंमा एक समारोहबीच मनिषाले भनिन्,‘मैले पनि आफ्नो पुस्तक लेखिसकेकी छु । पेन्गुइनबाट मेरो पुस्तक आउन लागेको छ भने यही जेठमा हुने प्रदर्शनीमा बुक लन्च हुने संभावना छ ।’ ’ उनले अगाडि थपिन्,‘सो पुस्तकको पोमोसनका लागि फेरि नेपाल आउने छु । पुस्तककै बहानामा तपाईंहरुसँग फेरि छिटै दोस्रो भेट पनि होला ।’

 

अभिनेत्री कोइरालाले काठमाडौंमा लेखक अरुण शर्माको उपन्यास मिसिगन ब्लुजको लोकार्पण गर्दै भनिन्,‘इमानदारीका साथ भन्नुपर्दा नेपाली भाषाको पूरा पुस्तक पढिसक्न मलाई मुस्किल हुन्छ र यो उपन्यास मिसिगन ब्लुज पनि मैले पूरा चाहिं पढ्न सकिनँ । तथापि उपन्यास जति पढें राम्रो नै लाग्यो ।’ डिकुरा प्रकाशनले एउटा राम्रो उपन्यास छापेको पनि मनिषाले बताईन् ।

यतीबेला काठमाडौंमा रहेकी उनी केही दिनमै भारता जाँदैछिन् । चाँडै नै आफ्नो पुस्तकको प्रचार प्रसारमा जुट्ने र त्यसकै लागि नेपाल आउने जानकारी उनले दिईन् । यी अभिनेत्रीले अहिले आफ्नो पुस्तक अँग्रेजी भाषामा आउन लागेको पनि बताईन् । सो पुस्तकमा उनको फिल्मी यात्रा, जीवनको आरोह अबरोह तथा क्यान्सरसँग गरेको संघर्षका कथाहरु हुने छ ।