काठमाडौं ४ बैशाख

पारिको देशबाट…गीतमार्फत आफ्नो लोकप्रियता हाँसिल गरेको लोक पप व्याण्ड ‘मँगोलियन हार्ट’ले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । यो व्याण्ड २०५० सालमा स्थापना भएको थियो ।

यही अबसरमा यो व्याण्डले रजत जयन्ती’ मनाउँदैछ । यो सांगीतिक समूहले रजत जयन्तीको अवसरमा ८ बैशाख शनिबार काठमाडौंको टुसालस्थित ह्यात रिजेन्सी गाउण्डमा खुला कन्सर्ट गर्दै रजत जयन्ती मनाउन लागेको हो ।
‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नाम दिइएको ‘रजत जयन्ती’मा देशका अधिकांश चर्चित तथा ख्यातीप्राप्त गायक÷गायिकाहरुको सहभागिता रहने मंगोलियन हार्टका गायक गायक राजु लामाले बताए ।

 


आफ्नो सांगीतिक यात्राको उताव–चढावसँगै दर्शक तथा श्रोताबाट पाएको माया र हौसलालाई कायम राखि राख्न रजत जयन्ती मनाउन लागेको पनि राजुले प्रष्ट पारे । कन्सर्टमा टिकट मूल्य २५ रुपैयाँ मात्र राखिएको पनि उनले बताए ।
मँगलबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै राजु लामाले मंगोलियन हार्टले निरन्तर २५ वर्षसम्म श्रोता÷दर्शकको माया पाइरहनुमा समूहका सबै सदस्यको उत्तिकै देन र योगदान रहेको बताए । एउटा सांगीतिक समूह यतिका वर्ष टिकिरहनु आफैमा उदाहणीय भएको उनको कथन थियो ।

सांगीतिक यात्राको यो रजत जयन्ती एउटा गौरबपूर्ण इतिहासको रुपमा लिएको पनि उनले बताए । शनिबार आयोजना हुने कार्यक्रममा व्याण्डको दर्जनौ लोकप्रिय गीतहरु गाउने पनि उनले जानकारी गराए ।

सो कार्यक्रममा उनले उभो उभो खासा म जाँदा…, नतानुँ त तानुँ तानुँ लाग्ने…, बादल पारिको देशबाट…, तिमीलाई देखेर…, मेरो नेपाल…, सायद तिम्रो बाटोमा…, भाईटिका…, गाजलु आँखा…, पर्खाइमा भिज्यो सिरानी…, हल्ला चलेछ…सहित थुप्रै गीत सुनाउने छन् ।

त्यसैअनुरुप २०७५ सालभित्र ‘मंगोलियन हर्ट’ले देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी कन्सर्ट गर्ने योजना बनाएको राजुले बताए । उनका अनुसार ती सबै कन्सर्ट च्यारिटी हुनेछ । २५ वर्ष पुगेको अबसरमा आयोजना गर्न लागिएको सबै कन्सर्टमा टिकटको मूल्य २५ रुपैयाँ मात्र राखिएको उनले प्रस्ट पारे ।