हेटौंडामा डमरुको डण्डीबियोमाथि चर्चा


हटौंडा, ३० चैत

जनमानसले बिर्सँदै गएको नेपाली खेल ‘डण्डीबियो’ लाई आफुलाई सिनेमामा रोचकताका साथ प्रस्तुत गर्न सफल भएको चलचित्र ‘डमरुको डण्डीबियो’को निर्माण पक्षले बताएको छ ।

यो चलचित्रको प्रचारका लागि शुक्रबारबाट मोफसल यात्रामा रहेको चलचित्र युनिटले शुक्रबार हेटौंडामा आयोजित पत्रकार भेटघाटमा यस्तो दाबी गरेका हुन् । कु्नै समयको राष्ट्रिय खेल डण्डीबियो खेल्दा दर्शकले कसरी मजा लिने भन्ने कुरा यो सिनेमा प्रमाणित गर्ने पनि निर्माण पक्षको दाबी छ ।

 

पत्रकार भेटघाटका क्रममा यसका अभिनेता एवम् लेखक खगेन्द्र लामिछानेले खेलकुदलाई जोडेर मनोरञ्जन प्रधान सिनेमा पनि बनाउन सकिन्छ भन्ने चलचित्र डमरुको डण्डीबियोले प्रस्ट्याउने दाबी गरेका छन् । यो चलचित्र डण्डीबियोको उत्थानका लागि पनि भएको खगेन्द्रको कथन छ । २१ बैशाखबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रले हलबाट कसैलाई पनि निराश नतुल्याउने पनि उनले बताएका छन् ।

छेतेन गुरुङले निर्देशन गरेको यो चललिचत्रकी अभिनेत्री लक्ष्मी बर्देवाले पनि चलचित्रमा काम गर्दाका अनुभव सुनाउँदै डमरुको डण्डीबियो राम्रो सिनेमा बनेको जिकिर गरिन् । निर्माता बिनोद गुरुङले आफ्नो चलचित्रले दर्शकको मन जित्ने दाबी गरे । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले डमरुको डण्डीबियो राम्रो सिनेमा बनेको विश्वास आफुहरुले लिएको बताए ।