मूर्धन्य कलाकार हरिप्रसाद शर्मा सम्मानित


काठमाडौँ, २९ चैत

ललितकलामा लामो समय योगदान पुर्याए बापत मूर्धन्य कलाकार हरिप्रसाद शर्मा ५ हजार रुपैया सहितको “अरुपण ललितकला पुरस्कारबाट बुधवार अरुपण आर्ट ग्यालरीमा आयोजित एक भव्य समारोहमा सम्मानित भएका छन् ।

कलासमीक्षक एवं कलाकार रमेश खनाल र रीता खनालबाट स्थापित उक्त पुरस्कार प्रमुख अतिथि प्रो. गोविन्द नारायण ज्यापूले हस्तान्तरण गर्दै, ‘अन्य विधामा जस्तै कला विधामा पनि विस्तारै कलापुरस्कार – सम्मान थपिदै गएको छ भने । यस्ता पुरस्कारले कलालाई उठाउन मद्दत गर्ने” बताए ।

सो अवसरमा कलासमीक्षक, कलाकार र निबन्धकार ज्ञानेन्द्र विवशले ८१ वर्षीय सम्मानित कलाकार हरिप्रसाद शर्माको जीवनीमाथि प्रकाश गर्दै भने, ‘ उहाँ अहिले पनि चाँगुनारायणको एक भव्य चित्र नऊ महिना लगाएर बनाईरहनु भएको छ । सतत सृजनशील कलाकार हुनु हुन्छ हरिप्रसाद शर्मा ।’ उनले केहि चित्र प्रदर्शनिका लागि अरुपण आर्ट ग्यालरीमा राखिएका छन् भने ।

सो अवसरमा स्वागत भाषण गर्दै ग्यालरीकी कार्यकारी निर्देशक रीता खनालले भनिन्, ‘नेपाली कला र कलाकारलाई प्रेरणा र प्रोत्साहित गर्न अरुपण ललितकला पुरस्कारको स्थापना यसै वर्ष देखि गरिएको छ । अब यो पुरस्कार प्रत्येक दुई वर्षमा वितरण गरिने छ ।’

त्यसैगरी कलाकार विपीन राज श्रेष्ठ, ज्योति प्रकाश वि.क.ले पनि हरिप्रसाद शर्माको जिवनी माथि प्रकाश पारेका थिए । कार्यक्रमको अन्त्यमा वार्षिक प्रतिवेदन पेश गर्दै कलाकार खनालले धन्वाद ज्ञापन गर्नुका साथै उक्त अवसरमा अरुपण आर्ट ग्यालरी सातौ वर्षमा प्रवेश गरेको शुभ अवसरमा केक काटेर जन्मोत्सव मनाईएको थियो ।