संगीत स्टार २०१८ देशभरि लुकेका पर्तिभा खोज्दै


काठमाडौँ, २९ चैत

संगीत फिल्मस् को आयोजनामा ‘संगीत स्टार २०१८’ ले गायन तथा नृत्य विधामा भविष्य खोज्ने तथा कला भएर पनि उपयुक्त अबसर पाउन नसकेका संभावनावान प्रतिभाहरुलाई स्थान दिने उद्देश्यका संगीत स्टारको दोश्रो संस्करणको केहि जिल्लामा अडिसन समेत सम्पन्न भईसकेको छ ।

कार्यक्रम निर्देशक संगीत बस्यालले लुकेर रहेका क्षमतावान प्रतिभाहरुलाई ‘पर्फेक्ट आर्टिस्ट’ बनाउने उद्देश्यका साथ संगीत स्टारको दोश्रो संस्करण सुरु गरेको बताए । जस अन्तर्गत पुर्वी नेपालको बिराटनगर, ईटहरीसँगै चितवन, हेटौँडा लगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भईसकेको छ । देशमा मुख्य मानिने १२ शहरमा अडिसन गर्ने घोषणा सहित सुरु भएको संगीत स्टारको दोश्रो संस्करणमा अब पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा अडिसन हुन बाँकी छ । अडिसन हुन बाँकी उल्लेखित स्थानहरुको लागी पनि मिति तय हुने क्रम चलिरहेको बस्यालले बताए ।

४ बर्षदेखि ६५ बर्षको उमेर समुहका जो कोहिले सहभागीता जनाउन सक्ने संगीत स्टारको विभिन्न शहरमा हुने अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गर्ने र त्यसपछि एक अर्को शहरसँगको समन्वयमा ३० कै जोडघटाउको आधारमा प्रतिभाहरु छनोट गरिने आयोजकले बताएको छ । यसको बारेमा विस्तृत विवरण संगीत स्टार २०१८ को अफिसियल वेभसाइट र फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

नृत्य र गायन दुबै विधामा एकसाथ सुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्स तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् । पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोश्रो राउण्ड सकिएसँगै तेश्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको ‘जजमेन्ट’को आधारमा र क्रमशः चौथो राउण्डमा ४०/६० प्रतिशतको भोटिङ हुँदै १२ वटै शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याईनेछ ।

त्यसबाट गायन र नृत्य दुबै विधाको ३०, ३० जना अन्तिम अडिसनको लागी छनोट हुनेछन् । जुन कार्यक्रमको प्रशारण सम्बन्धित शहरका स्थानिय टेलिभिजनसँगै काष्ठमण्डप टेलिभिजनबाट हुनेछ । फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको चयनको आधारमा अर्को चरण प्रवेश दिने बताईएको छ । यो भन्दा पहिले राजधानीमा नै ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा कम्तिमा डेढ महिना विधागत प्रशिक्षण दिईने बताइएको छ ।

उक्त अडिसन अन्तर्गत हरेक हप्ता दुई, दुई जना बाहिरिँदै जानेछन् र त्यसबाट खारिँदै आएका (नृत्य र गायन) दुबै विधाका उत्कृष्ट प्रतिभालाइ विजयी घोषणा गरिनेछ । विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षको रुपमा उपस्थित गराउने आयोजकले बताएको छ ।

यसैबीच कार्यक्रम निर्देशक बस्यालले यो रियालिटी शो मा गायन तथा नृत्यमा प्रयोग हुने सबै गीत संगीतका स्रष्टाहरुलाई उपयुक्त रुपमा रोयल्टी पनि प्रदान गर्ने समेत बताएका छन् । सम्बन्धित गीत, संगीतका स्रष्टाहरुलाई सिधा रुपमा रोयल्टी प्रदान गर्न लागिएको संभवत यो पहिलो शो हुनसक्छ ।