क्रिकेट मैदानकालागि ५१ हजार सहयोग सहित वर्षाले मनाईन जन्मदिन


काठमाडौं, २५ चैत

 

केही वर्षा यताबाट कलाकारहरुले आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्ने क्रम बढेको छ । यसै क्रममा अभिनेत्री वर्षा शिवाकोटीले पनि सामाजिक कार्य सहित आईतबार आफ्नो जन्मदिन मनाएकी छिन् ।

 

 

चलचित्र ‘जय शम्भो’को सेटमा आईतबार दिउँसो आफ्नो जन्मदिन मनाएकी हुन् । जन्म दिनको अबसर पारेर उनले धुर्मुस सुन्तली फाउन्डेसनकी कुञ्जना घिमिरे (सुन्तली)लाई नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि ५१ हजार रुपैयाँ प्रदान गरेकी छिन् । कुञ्जनाले वर्षालाई जन्मदिनको शुभकामना दिँदै सो सहयोगका लागि धन्यबाद ज्ञापन गरेकी छिन् ।

वर्षालाई शुभकामना प्रदान गर्न जानेहरुले केक उपहार दिएपछि उनले आधा दर्जन भन्दा बढी काट्नु परेको छ । यतीबेला यी अभिनेत्री चलचित्र जय शम्भोको छायाँकनमा व्यस्त छिन् । यो चलचित्रको आईतबार काठमाडौंको काभ्रेस्थलीमा लगाईएको सेटमा छायाँकन भईरहेको थियो ।

 

 

यी अभिनेत्रीले आफ्नो २४ औं जन्मदिन मनाएकी हुन् । २०५० सालमा उनी मोरङमा जन्मिएकी थिईन् । १८ वर्षको उमेरबाटै म्युजिक भिडियो मार्फत कला क्षेत्रमा भित्रिएकी उनले विकाश आचार्य निर्देशित चलचित्र नाई नभन्नु ल–२ बाट चलचित्र यात्रा सुरु गरेकी हुन् ।

अहिले उनको नयाँ चलचित्र भैरे प्रदर्शनीको तयारीमा छ । उनका आधा दर्जन चलचित्र प्रदर्शनमा आईसकेका छन् । जस मध्य पशुपति प्रसादले राम्रो व्यापार गरेको थियो । कारखाना, लप्पन छप्पन, सुब्बा साब उनका प्रदर्शित अन्य चलचित्र हुन् । यी चलचित्रको व्यापार बक्स अफिसमा सामान्य रहेको थियो ।

 

तस्बिर ः वर्षाको फेसबुकबाट