जमानतमा जेलमुक्त सलमान खान सुटिङमा फर्कंदै


मुम्बई,एजेन्सी, २४ चैत

सलमान खानका प्रसँसकहरुलाई खुसीको खबर छ । जोधपुरको सेन्ट्रल जेलमा कैदीको रुपमा दुई रात काटेका बलिउड अभिनेता सलमान खान शनिबार साँझ जमानतमा रिहाई भएका छन् ।

जोधपुरको अदालतका न्यायाधीश रविन्द्र कुमार जोशीले जोधपुर अदालतमा उनलाई जमानत दिइएको जानकारी गराएपछि सलमानलाई प्रहरीले जमानतमा जेलबाट रिहाई गरेको हो । रिहाई भएपछि पत्रकारहरुसँग कुरा गर्दै अभिनेता सलमानले अब आफुले उच्च न्यायलयमा पुनाबेदन दिने बताएका छन् ।

जोधपुर जेलमा दुई रात बिताएका खानले जेलको अनुभवबारे खास्सै प्रतिकृया नदिए पनि उच्च अदालतमा फैसलाका विरुद्ध पुनरावेदन गर्ने बताए । अब आफु रोकिएको फिल्म रेस–३ लगायतको सुटिङमा जोडिने प्रतिक्रिया दिए । आफुलाई न्याय मिल्ने विश्वास पनि उनले व्यक्त गरे ।

 

उनी जमानतमा जेलमुक्त भएपछि सलमान खानका प्रसँसकहरु खुसी भएका छन् । जोधपुर सेन्टर जेलको अगाडि दुई दिनदेखि बसेका प्रसँसकहरुले सलमानलाई छाडेको खुसीयालीमा नाचगान गर्दै पटका समेत पट्काएका छन् ।

सन १९९८ मा फिल्म ‘हम साथ साथ है’को छायाँकनका क्रममा जोधपुरको जँगलमा दुर्लभ दुई ओटा कृष्णसारको शिकार गरेर मारेको आरोपमा सलमानले २० वर्षदेखि अदालती धाउनु परेको छ । बिहीवार राजस्थान राज्यको जोधपुरस्थित अदालतले सलमान खानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो र १० हजार रुपैयाँ जरिवाना गराएको थियो ।

सो प्रकरणमा मुछिएका उनका साथी कलाकारहरु बिहिबार नै अदालतबाट निर्दोष घोषणा भईसकेका छन् । सलमानले अझै पनि आफु सो प्रकरणमा निर्दोष भएको दाबी गर्दै आएका छन् ।