अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणमा जुटे धुर्मुस सुन्तली


काठमाडौं, १८ चैत

धुर्मुस सुन्तली फाउण्डेसनका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएका छन् । सो मैदान निर्माणको घोषणासँगै निर्माणमा जुटेका यी दम्पत्तिले स्थलको खोजी कार्य तिव्र बनाएका छन् ।

यस अघि भूकम्प पीडितलाई काभ्रेको पहरी गाउँ, सिन्धुपालचोकको गिरान चौरमा आवास निर्माण गरेका धुर्मुस सुन्तलीले महोत्तरीको बर्दिबासमा नमुना मुसहर बस्ती र रौटहटको सन्तपुरमा बिपन्त परिवारकालागि सुविधा सम्पन्न आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छन् ।

यसपछि यी दम्पति अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान नेपालमा निर्माणका लागि जुटेका हुन् । यी दम्पत्ति सहित फाउण्डेसनको टोलीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा क्रिकेट मैदान निर्माणका लागि अवलोकन गरेका छन् ।

 

जग्गा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट मैदान देशको लागि अपरिहार्य रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपयुक्त जग्गा छनोट गरेर जतिसक्दो छिटो क्रिकेट मैदान निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

फाउण्डेसनका अध्यक्ष सितारामले क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफुहरुलाई थप उत्साह मिलेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण स्थल छनोटको काम सुरु गरिएको भन्दै काठमाडौं उपत्यका भित्र उपयुक्त स्थान रहेको खण्डमा फाउण्डेसनलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । क्रिकेटमा नेपालले वान डे मान्यता हालै पाएको अबस्थामा नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान नभएका कारण आफुहरुले यो अभियान सुरु गरेको सितारामले व्युटी न्युज नेपाललाई बताए ।