काठमाडौं, ११ चैत

बिदेशमा पनि नेपाली गीतको आकर्षक म्युजिक भिडियो बन्ने क्रम मौलाएको छ । हुन त प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टाहरु बढेपछि त्यहाँ म्युजिक भिडियो निर्माण पनि बढ्नु स्वभाविकै हो ।

यस्तै केही समय देखि दुबई बस्दै आएका फोटो पत्रकार कमल श्रेष्ठले आफ्नै छायांकन, सम्पादन तथा निर्देशनमा नयाँ म्युजिक भिडियो तयार गरेका छन् ।

 

युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबकोे पहिलो गीत देखेर तिमीलाई…को भिडियो कमलले तयार गरेका हुन् ।

यो गीतमा सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको सुन्दर दृश्य कैद गरिएको छ ।

 

यस्तो बनेको छ भिडियो –

हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् ।

गायक सन्जिबका अनुसार उनी केहि समय पहिले फ्राईडे मनाउन संगीतकार कमल थापासँग दुबईकै एक क्लब गएका थिए । क्लबमा एक सुन्दरी युवतीलाई देखेर यो गीतको शब्दहरु कोरिएको थियो । उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए । म्युजिक एरेन्जर रोनी दाहालको सहयोगमा गीत रेकर्ड गरेपछि उनलाई यो गीतको भिडियो बनाउन इच्छा जाग्यो । तर आफुले चाहेजस्तो भिडियो बनाउन सक्ने दुबईमा कोहि भेटेनन् । यसैक्रममा घुमघामको सिलसिलामा दुबई पुगेका ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठसँग उनको भेट भयो । त्यसपछि उनले चाहे जस्तो म्युजिक भिडियो निर्माण भयो ।

 

कमल श्रेष्ठ आफैंमा नेपालका चर्चित ग्लामर फोटो पत्रकार हुन् । उनले दर्जनौ नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरुको फोटो सेसन गरिसकेका छन् । फोटोग्राफीसँग सँगै उनी ग्राफिक डिजाईन र भिडियो सम्पादनमा पनि उत्तिकै लगाब राख्छन् ।

एक दशक अगाडि नै उनले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सिंह लगायतका गायक गायिकाको म्युजिक भिडियोसमेत छायांकन गरिसकेका छन् । कमलले थुप्रै गायक गायिकाको एल्बम कभर डिजाईन पनि गरिसकेका छन् ।