‘लालीबजार’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आर्ट्स


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ चैत

आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म लालीबजार को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ। फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। यसअघि फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ अत्यधिक लोकप्रिय बनेपछि विदेश प्रदर्शनका लागि विभिन्न प्रस्तावहरू आए पनि निर्माण पक्षले प्राविधिक तयारी पूरा भएपछि मात्र सम्झौता गर्ने निर्णय लिएको थियो।

निर्माण कम्पनीका अनुसार ‘लालीबजार’ तीन साताअघि नै प्रदर्शनका लागि तयार भइसकेको हो। प्राविधिक काम अधुरो हुँदा अन्तर्राष्ट्रिय वितरकलाई झन्झट हुने भएकाले पूर्ण तयारीपछि मात्र अधिकार बिक्री गर्न लागिएको बताइएको छ। निर्माता म्याक्स दीपेश खत्रीले अब डायस्पोरा बजारलाई लक्षित गर्दै वितरण सम्झौता प्रक्रिया अगाडि बढाइने जानकारी दिए। उनका अनुसार आएका प्रस्तावहरूबारे निर्माण टोलीबीच छलफल गरी उपयुक्त वितरकसँग सम्झौता गरिनेछ।

गीत ‘मायालाई के दिउँ म बैना’ युट्युबमा एक करोड १५ लाखभन्दा बढी पटक हेरिनुका साथै टिकटकमा हजारौं भिडियो बनेपछि फिल्मप्रति दर्शकको उत्साह झन् बढेको छ। निर्देशक यम थापाले यो फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने दाबी गर्दै नेपाली सिनेमामा फरक कथा प्रस्तुत गर्ने बताएका छन्।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ। साथै विशाल देवकोटा र प्रशंसा सुवेदीले यही फिल्मबाट अभिनय डेब्यु गरेका छन्।