विकास बोर्डद्धारा १० नारी चलचित्रकर्मी सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० चैत

चलचित्र विकास बोर्डद्धारा १० जना नारी चलचित्रकर्मी सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सवमा उनीहरुलाई सम्मान गरिएको हो । यो महोत्सव बोर्डमा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न समापन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी चिव लक्ष्मीकुमारी बस्नेतले २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन् । सम्मानित हुने १० महिला चलचित्रकर्मीमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सचिबले सम्मानितलाई बधाई ज्ञापन गरिन् ।

समापन समारोहको अर्को विशेष आकर्षण सांगीतिक प्रस्तुति रह्यो। महिला कलाकारद्वारा नेपाली नौमति बाजासहित कार्यक्रमलाई अझ उल्लासमय बनाइएको थियो। सो अवसरमा देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाल लगायतका कलाकारहरूले गीत प्रस्तुत गर्दै समारोहलाई सांगीतिक उचाइ दिएका थिए। सम्मान, संस्कृति र संगीत एकै मञ्चमा मिसिएको यो दृश्यले कार्यक्रमलाई अझ भावुक, जीवन्त र स्मरणीय बनाएको थियो।

यसैबीच, कार्यक्रममा चलचित्र ‘कुमारी’ का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो। यसले महोत्सवलाई केवल सम्मान समारोहमा सीमित नराखी, नेपाली चलचित्रको कलात्मक र सांस्कृतिक विरासतसँग जोडिएको बहुआयामिक उत्सवका रूपमा स्थापित गरेको देखियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले धन्यवाद ज्ञापनसहित कार्यक्रमको उदेश्यबारे प्रकाश पारे ।