बलात्कारको आरोप लागेपछि बलेलाई चलचित्र पाँच पाण्डबबाट हटाइयो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० चैत

कलाकार सागर लम्साल (बले) चलचित्र पाँच पाण्डबबाट निश्कासित भएका छन् । अमेरिकामा बसोबास गरिरहेकी एक युवतीले कलाकार (बले) विरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी छिन् । ती युवतीले सामाजिक सञ्जाल मार्फत सो आरोप लगाएपछि चलचित्र ‘पाँच पाण्डव’को निर्माण टिमले उनलाई चलचित्रबाट हटाउने निर्णय गरेका हुन् । सो घटनापछि निर्माण टिमले तत्काल निर्णय गर्दै सागरको स्थानमा नयाँ कलाकार भित्र्याउने प्रक्रिया अघि बढाइसकेको पनि शुक्रबार विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

‘पाँच पाण्डव’मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, जनी गुरुङ, प्रशान्त ताम्राकार र इभा गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

यो चलचित्रको अहिलो झापामा छायांकन भइरहेको छ । यस चलचित्रमा सागर लम्साल मुख्य कलाकारमध्ये एक थिए। तर आरोप सार्वजनिक भएपछि निर्माण पक्ष दबाबमा परेको देखिन्छ । सागर बिरुद्ध कानूनी कारवाही हुने सम्भावना पनि बढेको छ । जसका कारण भोली चलचित्रलाई गम्भिर असर पर्ने देखिएको छ ।

चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता नवीन श्रेष्ठका अनुसार यस्तो समाचार बाहिरिएपछि टोलीले गम्भीर रूपमा विषयलाई लिँदै आवश्यक निर्णय लिनुपरेको हो। उनले सागरबारे व्यक्तिगत रूपमा नकारात्मक धारणा नभए पनि परिस्थितिले यस्तो कदम चाल्न बाध्य बनाएको बताए।

निर्माता श्रेष्ठका अनुसार सागरले अभिनय गरेको अधिकांश दृश्य छायांकन भइसकेको थियो। अब भने ती सबै दृश्य पुनः छायांकन (रि–सुट) गरिनेछ। “जति खर्च बढे पनि हामी तयार छौँ, चलचित्रको स्तर र यसको प्रतिष्ठामा कुनै दाग लाग्न दिन्नौँ,” उनले भने। चलचित्र चैत २ गतेदेखि छायांकन सुरु भएको थियो।

चलचित्रको निर्देशन वसन्त निरौलाले गरिरहेका छन् भने कथा सुशील पौडेलले लेखेका हुन्। काली रानी श्रेष्ठ निर्माता रहेको यस चलचित्रलाई श्याम तामाङले छायांकन गरिरहेका छन्।

 

पीडित युवतीले बलेको बारेमा सामाजिक सञ्जालमा राखेको पोस्ट यस्तो छ:

एक वर्ष अघिको कुरा हो। म अमेरिका आएको केही समय मात्र भएको थियो। सानैदेखि डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी मलाई, घरबाट टाढा यो अन्जान ठाउँमा एक्लै हुँदा ती सबै कुराले झन् अन्धकारतिर धकेल्यो। मानसिक स्वास्थ्यकै कारण म अस्पतालमा समेत भर्ना भएँ। सायद वर्षौंदेखि आफैँसँग लड्दा लड्दा मेरो मन र मस्तिष्कले हार मानिसकेको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि, ‘अलि कोसिस गरेँ भने राम्रा दिनहरू आउनेछन्’ भन्ने आशा बोकेर म बाहिर निस्किएँ। त्यही बीचमा नेपालबाट केही अंकलहरू अमेरिका आउनुभएको थियो। उहाँहरू सबैजना हाम्रो परिवारसँग वर्षौंदेखि जोडिनुभएको थियो- कसैलाई म दाइ भन्थेँ त कसैलाई अंकल।

यस्तो गाह्रो समयमा, कुनै आफन्त नभएको ठाउँमा आफ्नै परिवार जस्तो मान्छे भेटे छोरीलाई अलि निको होला कि भन्ने सोचेर मेरो बाबाले ‘एकचोटि भेट न त’ भन्नुभयो।

मसँग ऊर्जा थिएन, औषधि खाइरहेकी थिएँ र एकदमै एक्लो महसुस गरिरहेकी थिएँ। तैपनि, यो बिरानो सहरमा कोही आफ्नो मान्छे भेट्दा “चर्को घाममा छहारी” मिल्छ कि भन्ने आशले म भेट्न राजी भएँ। भेट्न जाँदा एकजना अंकलसँग भेट हुन सकेन, तर जसलाई मैले दाइ भन्थेँ, उहाँसँग भेट भयो।

कुराकानीकै क्रममा उहाँले भन्नुभयो, ‘तिमी बसेको ठाउँ हेरौँ न त।’ १० वर्षभन्दा अघिदेखि चिनेको र दाइ मानेको मान्छेलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ।

मेरो कोठामा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्ना संघर्षहरूका बारेमा रुँदै सुनाएँ, म कति गाह्रो अवस्थाबाट गुज्रिरहेकी छु भनेर सबै भनेँ। मलाई थाहा थिएन, जसलाई मैले दाइ मानेकी थिएँ र मेरो पुरै परिवारले विश्वास गर्थ्यो, त्यो मान्छे त एउटा राक्षस रहेछ। त्यसपछि म बलात्कृत भएँ।

जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, त्यो सबै सकियो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि ‘मैले केही भनेँ भने मेरो पुरै परिवार बर्बाद होला’ भन्ने डर लाग्यो।

माफ गर्नुहोला बाबा, अहिले यसरी भन्दैछु, हजुरलाई भन्ने हिम्मत नै आएन। सायद हजुरसँगै भएको भए हजुरको अंगालोमा रोएर हिम्मत बटुल्थेँ होला, तर म हजुरबाट धेरै टाढा थिएँ। त्यतिबेला एक सास फेर्न समेत गाह्रो भइरहेको अवस्थामा म आफ्नो लागि कसरी लड्थेँ होला र?

मैले कसैलाई केही भन्न सकिनँ। आफैँदेखि घृणा लागेर आयो। वर्षौंदेखिको संघर्षले गर्दा मेरो आत्मा, शरीर र मन सबैले हार मान्यो। परिवारको बारेमा सोचेर ज्यान फाल्न पनि सकिनँ, तर यो कुराले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। म न राम्ररी सास फेर्न सक्छु, न खान सक्छु; लाग्छ म एउटा जिउँदो लास बनेकी छु।

अनि त्यो राक्षस भने फिर्ता आफ्नो घर गयो र खुलेआम बाँचिरहेको छ।

आज अलि हिम्मत जुटाएर यो लेख्दैछु। मलाई थाहा छ मैले न्याय पाउँदिनँ होला र अब लड्ने हिम्मत पनि छैन, तर जसले मलाई यति ठुलो अन्याय गर्यो, त्यो मान्छेले सजाय भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैलाई यस्तो गलत काम गर्न पाउनु हुँदैन।

म मेरो पुरै परिवारसँग माफी माग्न चाहन्छु। यो सुनेपछि सायद हजुरहरू मदेखि निराश हुनुहुनेछ। तर सधैँ निराश मात्र बनाइरहने म एउटा असफल मान्छे नै त हुँ।

अन्तिममा एउटा प्रश्न छ: ‘कसैको जीवन बर्बाद पारेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्री?’