ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ चैत
गीतकार सङ्घ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकार’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा आयोजित कार्यक्रममा चलचित्रमा गीतको सर्जनात्मक, सांस्कृतिक र व्यावसायिक भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ कवि–गीतकार एसपी कोइराला, वरिष्ठ गायिका मिरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ गीतकार आनन्द अधिकारी तथा वरिष्ठ कवि–गीतकार श्रवण मुकारुङले आफ्ना धारणा राखेका थिए। कार्यक्रमको अध्यक्षता गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि दिनेश डिसीले यस्तो पहलले गीतकार र चलचित्रकर्मीबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्रष्टाको हकअधिकार संरक्षणमा बोर्ड सधैं प्रतिबद्ध रहने बताउनुभयो।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमार्फत वरिष्ठ गीतकार आनन्द अधिकारीले गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गर्नुभयो। उहाँले गीतले कथालाई जीवन्त बनाउने, पात्रको भावना उजागर गर्ने र दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै प्रविधिको विकाससँगै चलचित्रको शैलीमा आएको परिवर्तन र हिंसात्मक सामग्रीको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्नुभयो।
त्यसैगरी सुरेश अधिकारीले प्रतिलिपि अधिकार र रोयल्टीको विषयमा बोल्दै गीतकार नै गीतको पहिलो स्रष्टा भएको उल्लेख गर्नुभयो। गीतको पुनःप्रयोग वा सार्वजनिक प्रस्तुतिका लागि गीतकारको अनुमति आवश्यक हुने र बौद्धिक सम्पत्तिको संरक्षणका लागि स्पष्ट कानुनी व्यवस्था र सचेतना आवश्यक रहेको उहाँको भनाइ थियो।
वरिष्ठ गायिका मिरा राणाले चलचित्र गीतले आफ्नो सांगीतिक यात्राको सुरुवात गराएको स्मरण गर्दै गीतबिनाको चलचित्र अपूरो हुने बताउनुभयो। श्रवण मुकारुङले गीत लेखनका आफ्ना अनुभव सुनाउँदै स्रष्टाको सम्मान र स्पष्ट सम्झौता संस्कृतिको आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी एसपी कोइरालाले गीतकार सङ्घले स्रष्टाको अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यस्तो बहस सुरु गरिएकोमा आयोजकलाई धन्यवाद दिनुभयो।
कार्यक्रमको सुरुवातमा अध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्तव्य दिँदै नेपाली चलचित्रमा गीतलाई केवल प्रचारको माध्यम मात्र नभई सर्जनात्मक योगदानका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यशालाले चलचित्रभित्र गीतको महत्वलाई पुनः स्थापित गर्दै गीतकारको हकअधिकार, रोयल्टी र प्रतिलिपि अधिकारका विषयलाई संस्थागत बहसको केन्द्रमा ल्याएको निष्कर्ष सहभागीहरूले निकालेका छन्।

