ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत
नेपाली चलचित्र ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा गरिएको छ। अभिनेता अनमोल केसी को जन्मदिनको अवसर पारेर निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी वर्ष २०८३ को दशैं, फुलपातीको छेकोमा असोज ३० गते रिलिज हुने जानकारी दिएको हो।
सार्वजनिक पोस्टरमा अनमोलसँगै अभिनेत्री प्रिन्सी खतिवडा लाई प्रस्तुत गरिएको छ। पूर्णिमाको उज्यालो जूनलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा अनमोल फरक अवतारमा देखिन्छन्। एक हातमा राँको बोकेको र अर्को हातले प्रिन्सीको खुट्टा समातेको दृश्यले फिल्मको कथावस्तुबारे संकेत गर्छ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक भुवन केसी हुन्। उनले फिल्ममा अभिनयसमेत गरेका छन्। जन्मदिनको अवसरमा अनमोलले पोस्टर सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गर्दै ‘दशैंमा भेटौंला’ सन्देश दिएका छन्।
ग्रामिण परिवेशमा आधारित प्रेमकथामा केन्द्रित फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। फिल्मले दर्शकलाई करिब ३० वर्षअघिको नेपाली समाजसँगै वर्तमानको झल्को दिने निर्माण पक्षको दाबी छ।
फिल्ममा अनमोल, प्रिन्सी र भुवनसँगै प्रकाश घिमिरे, श्वेता मिश्र, लक्ष्मी गिरी, अर्पणा घतानी लगायतका कलाकारको अभिनय रहेको छ। काठमाडौं, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरामा छायांकन गरिएको फिल्मको करिब १० प्रतिशत छायांकन बाँकी रहेको बताइएको छ।
कार्यकारी निर्माता तेजविक्रम केसीका अनुसार बाँकी छायांकन नयाँ वर्ष २०८३ को आसपास पोखरामा सम्पन्न गरिनेछ। प्रेमकथा र पुरानो सामाजिक परिवेशको संयोजनमा बनेको ‘बाटुलो जून’ प्रति दर्शकको अपेक्षा बढ्दो देखिएको छ।

