‘परालको आगो’ दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रचारलाई तीव्र बनाउने क्रममा शनिबार उक्त गीत रिलिज गरेको हो।

गीतमा प्रकाश सपुतशान्तिश्री परियार को स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं प्रकाश सपुतकै हुन् भने संगीत संयोजन सुदिप सागरले गरेका छन्। लोकलयमा आधारित यस गीतले ग्रामीण परिवेशको प्रेम कथा र जीवनका दुःख–सुखलाई प्रस्तुत गरेको छ।

गीतको भिडियोमा मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतको जोडी देखिएको छ। उनीहरूको पहिलो स्क्रिन सहकार्यलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। भिडियोमा गाउँघरको परिवेश, घाँस–दाउरा, बाख्रा गोठालो जस्ता दृश्यहरू समेटिएका छन्, जसले कथालाई थप जीवन्त बनाएको छ।

यसअघि फिल्मको टिजर र पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक भइसकेका छन्, जसले दर्शकमाझ राम्रो चर्चा पाएका थिए। नयाँ गीतले पनि सोही अपेक्षा अनुसार लोकप्रियता हासिल गर्ने विश्वास निर्माण टिमको छ।

लक्ष्मण सुनार को निर्देशनमा बनेको यस फिल्म गुरु प्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’बाट प्रेरित छ। फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन्।सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। ग्रामीण परिवेश, प्रेम र यथार्थ कथामा आधारित ‘परालको आगो’ले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।