ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह को नेतृत्वमा नयाँ सरकार गठन भएको छ। राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबीच धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सोही अवसरमा नव नियुक्त मन्त्रीहरूले पनि आ-आफ्नो पदको सपथ लिएका छन्।
सपथ ग्रहणसँगै प्रधानमन्त्री शाहले केही क्षणमै मन्त्रिपरिषद्का सदस्यहरूसहित पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ। नयाँ सरकार गठनसँगै देशमा सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले देशलाई सर्वोपरि राखेर जिम्मेवारी बहन गर्न सबै मन्त्रीहरूलाई आग्रह गरेका छन्।
नयाँ मन्त्रीमण्डलमा स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् भने शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन्। यस्तै सुदन गुरुङ गृहमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, गणेश पौडेल पर्यटन मन्त्री, अमरेश सिंह उद्योग मन्त्री तथा सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन्।
त्यसैगरी गीता चौधरी कृषिमन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री, सीता वादी महिला तथा बालबालिका मन्त्री, सोबिता गौतम कानुन मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री र विक्रम तिमिल्सिना सञ्चार मन्त्रीको जिम्मेवारीमा रहेका छन्।
नयाँ सरकार गठनसँगै देशभर शुभकामना तथा बधाईको लहर चलेको छ। जनताले नयाँ नेतृत्वबाट प्रभावकारी सेवा प्रवाह, आर्थिक सुधार र समृद्धिको अपेक्षा गरेका छन्। सरकारले आगामी दिनमा जनमुखी कार्यक्रम ल्याउँदै देशलाई स्थायित्व र विकासतर्फ अघि बढाउने विश्वास लिइएको छ।


