ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ चैत
गायक रामकृष्ण ढकाल को निर्माण नेपाली चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ। रानी फिल्म्सको ब्यानरमा बनेको यो चलचित्र आगामी नयाँ वर्षको वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। गीत सार्वजनिक भएसँगै चलचित्रको साङ्गीतिक पक्षप्रति दर्शकको उत्सुकता अझ बढेको देखिन्छ।
गीतमा आनन्द अधिकारी का शब्द, उज्ज्वल सागर को सङ्गीत तथा स्वयं ढकाल र गायिका रचना रिमाल को स्वर रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको गीतले ग्रामीण परिवेशको सरल र निस्वार्थ प्रेमलाई प्रस्तुत गर्छ। कार्यक्रममा ढकालले सङ्गीतकार सागरलाई हस्ताक्षरसहितको गितार उपहार दिँदा माहोल भावुक बनेको थियो।
कार्यक्रममा बोल्दै ढकालले चलचित्र राष्ट्रकवि माधवप्रसाद घिमिरे को कृतिमा आधारित नभई समाजकै वरिपरि रहेको प्रेमकथामा केन्द्रित रहेको स्पष्ट पारे। गीतकार अधिकारीले पनि गीतमा गरिबको निष्कपट प्रेमलाई उजागर गरिएको बताए। गायिका रिमालले भने आफ्नो स्वरका लागि लामो समय पर्खिएकोमा ढकालप्रति आभार व्यक्त गरिन्।
निर्देशक प्रकु पाण्डेयले पहिलो निर्देशकीय काममै विश्वास पाएकोमा खुसी व्यक्त गर्दै टिमको मेहनतले उत्कृष्ट पारिवारिक चलचित्र बनेको बताए। कलाकार वर्षा राउतले यस्तो परियोजनामा काम गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरिन्। चलचित्रमा विजय बराल, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ।


