ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ चैत
एभरेस्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापना काल देखिनै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्व सामु प्रस्तुत गरी नेपालको गरीमा बढाउने कार्य गर्दै आइरहेको छ । केही दशक यता नेपालले लोक संस्कृतिलाई विश्व समुदाय सामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रूपमा रहन सक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृतिक विविधता अहिले सम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृतिलाई झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।
नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरू रहँदै आएको सर्वविदितै छ । नेपाली संस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृति प्रति स्वयं नेपाली उदासीन हुनु दुःखलाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पीढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनको निम्ति कार्य गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो । यसको लागि यस संस्थाले “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरेको थियो । त्यसपछि हरेक दुई–दुई बर्षमाआयोजना गरी निरन्तरता दिँदै आएको यस संस्थाले २०८२ चैत्र ५ गते शुक्रवार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा तेह्रौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ समुद्घाटन आयोजना गर्न गइरहेको छ ।
फाल्गुन १५ गते देखि २४ गते सम्म तयारी गरिएको मेला, देशमा निर्वाचन को मितिको समेत सोही समयमा परेको कारण, मेलालाई चैत्र ५ गते देखि १४ गते सम्म आयोजना गर्न गइरहेको छ ।
प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला देखि बाह्रौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्म आइपुग्दा करिब ८६ भन्दा बढी देशका ९१२५ भन्दा बढी कलाकारहरूले घर आँगनमा आ–आफ्नो देशको मौलिकता झल्कने झाँकी सहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सकेका छन् । आजका दिन सम्म आइपुग्दा यस संस्थाले विश्वको ७८ भन्दा बढी मुलुकमा लोक सांस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संस्कृतिको पहिचान र प्रवद्र्धन गराउँदै आएको छ । नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुका साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको जानकारी गराउन चाहन्छौँ । यदाकदा टेलिभिजनको पर्दामा मात्र देखिने विदेशी लोक संस्कृतिलाई हेर्दै आएका नेपालीहरूले मेला अवधि भरी आफ्नै घर आँगनमा नेपालको प्रस्तुति सहित प्रत्यक्ष रूपमा नियाल्न पाउनेछन् । यसले नेपालको पर्यटन र संस्कृति प्रवद्र्धनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजक पक्षले लिएको छ ।
यस संस्थाले स्थानीय आयोजकहरू र विभिन्न प्रायोजकहरूको सहयोगबाटै हाल सम्म १२ वटा मेलाको सफलता पूर्वक आयोजना गरेको जनाउँदै आयोजक आरसी कोइरालो भने,‘आज हामी तेह्रौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ सफलताका साथ सम्पन्न गराउन गइरहेका छौँ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगी सिद्ध हुने यस्ता कार्यक्रममा तपाईं पत्रकार साथीहरूको चाखलाग्दो र जुझारु संलग्नता रहने विश्वास लिएका छौँ ।’
यस पटकको महोत्सव काठमाण्डौं, पोखरा र ललितपुर, काभ्रे “पाँचखाल” र बुढानीलकण्ठ जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना हुँदै छ । ऐतिहासिक तथा विश्व सम्पदा सूचिमा आबद्ध पाटन दरबार र हनुमान ढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरूको संरक्षण र सम्वद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास आयोजक पक्षको छ ।
यसबाट देशको विविध सांस्कृतिक, पुरातात्त्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई नेपालकै विश्व सामु प्रचार–प्रसार हुने आशा राखिएको छ । यस अन्तर्राष्ट्रिय मेलामा वोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, टर्की, पोल्यान्ड, साउथ अफ्रिका र नेपाल लगायत विभिन्न राष्ट्रका सांस्कृतिक समूहका २६० भन्दा बढी कलाकारहरूले भागलिने निश्चित भैसकेका छन्, तर हाल इजरायल, अमेरिका, इरानको युद्धले खाडी मुलुकमा असर परेकाले त्यहाँ बाट आउने–जाने रुटहरू प्रभावित भएको कारण केही देश घट्ने आयोजक पक्षको कथन छ ।
उक्त महोत्सव अवधिभर कलाकारहरूले आ–आफ्नो संस्कृतिलाई झल्कने भेष–भूषा लगाई सांस्कृतिक झाँकी गर्ने र आफ्नो लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गरिने छ । काठमाडौँ आसपासका विद्यालयमा गई विदेशी कलाकारहरूले आफ्ना सांस्कृतिक प्रस्तुत गर्ने र विद्यालयका बिद्यार्थीहरुको समेत सांस्कृतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।


