१७४ जनाले लिए भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ चैत

चलचित्र विकास बोर्डले आयोजनागरेको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिममा अहिलेसम्मकै सर्वाधिक प्रशिक्षार्थी सहभागी भएका । हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिमबाट १७४ जना प्रशिक्षार्थीहरू सहभागी भएर प्रशिक्षण लिए ।

तीन दिनसम्म चलेको तालिम मंगलबार सम्पन्न भएको छ । तालिममा सहभागीहरूले भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया तथा साउन्ड एडिटिङ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरेका छन्। सहभागीहरूले तालिमलाई अत्यन्तै व्यवहारिक, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने खालको भएको प्रतिक्रिया दिएका छन्।

समापन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसी ले नेपाली चलचित्रलाई विश्वस्तरमा पु¥याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले भने, “भ्वाइस एक्टिङ र डबिङ केवल प्रविधि मात्र होइन, यो अभिनयको आत्मा हो। यसलाई सशक्त बनाउन सके नेपाली चलचित्रले नयाँ बजार र नयाँ दर्शक प्राप्त गर्न सक्छ।”

प्रमुख प्रशिक्षक अमित देओन्दीले नेपाली सहभागीहरूको उत्साह र प्रतिभाको प्रशंसा गर्दै भविष्यमा अझ उन्नत सहकार्यको सम्भावना रहेको बताए।
उनले भने, “नेपाली कलाकारहरूमा अद्भुत क्षमता छ। सही प्रशिक्षण र निरन्तर अभ्यासले यहाँको भ्वाइस एक्टिङलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिन्छ।”
चलचित्र विकास बोर्डका अनुसार उक्त तालिमले नेपाली चलचित्र क्षेत्रमा भ्वाइस एक्टिङ र डबिङको गुणस्तर सुधार गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।