पोखराबाट ‘जिरो डिग्री’को छायांकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ चैत

नेपाली चलचित्र ‘जिरो डिग्री’को छायांकन पोखराबाट सुरु गरिएको छ। पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन औपचारिक रूपमा सुरु गरिएको हो। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो शटमा वरिष्ठ कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए।

चलचित्रमा  विजय बराल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथो, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनाललगायत कलाकारको अभिनय रहनेछ।

यस चलचित्रको कथावस्तु नेपाली चलचित्र क्षेत्रमा निकै फरक र रोचक मानिएको छ। सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आउने उथलपुथल र हास्यास्पद परिस्थितिका वरिपरि चलचित्रको कथा घुम्नेछ। आकास बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथामा बन्न लागेको यस चलचित्रलाई लिएर दर्शकमाझ अहिलेबाटै चासो बढ्दै गएको बताइएको छ। छायांकनमा जानुअघि नै चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिएको थियो।

कार्यकारी निर्माता मोती कार्की रहेको यस चलचित्रको छायांकन निशाल पौडेलले गर्नेछन्। चलचित्रको सम्पादन चानस पुन मगरले गर्नेछन् भने रङ्ग संयोजन राजेन्द्र मोक्तानले सम्हाल्नेछन्। फिल्ममा अङ्कित बाबु अधिकारीको संगीत र युवराज काफ्लेको शब्द रहनेछ।

अर्मलाकोटबाट क्यामेरा रोल गरिएको यस चलचित्रको सम्पूर्ण छायांकन कास्की जिल्लाका अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन तालिका करिब ३५ दिनको तय गरिएको छ। चलचित्रको कास्टिङ सन्जोग रसाइलीले गरेका हुन्।

फिल्मको पब्लिसिटी डिजाइन रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले गर्नेछन्। वितरणको जिम्मा कुबेर सिने डिस्ट्रिब्युसनले काठमाडौं उपत्यका बाहिर सम्हाल्नेछ भने उपत्यकामा डिसिएनले चलचित्र प्रदर्शन गर्नेछ।