नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ चैत

नेपाली चलचित्र ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म यो चलचित्र आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

उनले भने,‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा, अग्रजले जीवन समर्पण गरेका छन् । तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलयान भएका छन्, रोजगारीका लागि बसाई सरेका छन् । यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ, यसलाई समग्र नेपालकै कथा भन्दा हुन्छ ।’

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।

निर्देशक घिमिरेले वितरकसँग छलफल गर्दै नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर आगामी वैशाख १ मा फिल्मको प्रदर्शन तय गरिएको जानकारी दिए ।

‘फिल्मको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरें । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनु भयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ । यसपटक दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु’, निर्देशक घिमिरेले भने ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

पहाडमा रञ्जित गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।