‘परालको आगो’को ‘उडी जाउँ भने…’ गीत सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ चैत

नेपाली चलचित्र ‘परालको आगो’को चर्चित गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको प्रचारलाई बल पुर्‍याउने उद्देश्यले गीत रिलिज गरिएको बताइएको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँ देखिएका छन्। भिडियोमा आफ्नो जन्मथलोभन्दा आफूलाई माया लागेको स्थानतर्फ जान मन हुने भावनालाई चित्रण गरिएको छ। गीतमा सुहाना थापाले निकै भावुक अभिनय प्रस्तुत गरेकी छन्। रामजी लामिछानेको कोरियोग्राफीमा तयार गरिएको भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले गरेको छ।

यो गीत नेपाली संगीतका पहिलो महिला कम्पोजर तथा एरेन्जरका रूपमा चिनिएकी शान्ति ठटालको संगीतमा आधारित छ। गीतमा गायिका निशु शर्माको स्वर रहेको छ भने शब्द रचना मनबहादुर मुखियाले गरेका हुन्। निर्माण पक्षका अनुसार नेपाली संगीतमा निकै लोकप्रिय रहेको यो गीतलाई नयाँ ढंगले प्रस्तुत गरिएकोले दर्शकमाझ फेरि पनि विशेष छाप छोड्ने अपेक्षा गरिएको छ।

यो गीतको मूल संस्करण चार दशकअघि प्रसिद्ध गायिका अरुणा लामाले गाएकी थिइन्। समय बित्दै जाँदा पनि उक्त गीत उत्तिकै सान्दर्भिक र लोकप्रिय रहेको बताइन्छ। यही कारण निर्माण टिमले गीतलाई अरुणा लामाप्रति समर्पित गर्दै चलचित्रमा समावेश गरेको जनाएको छ। गीतको म्युजिक एरेन्ज भने विनोद भुजेलले गरेका हुन्।

साहित्यकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित भएर निर्माण गरिएको यस चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ।

हरिओम् सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। फिल्मको कथा, पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन्। चलचित्रको निर्देशन लक्ष्मण सुनारले गरेका छन्।

चलचित्रमा भिएफएक्सको काम समीर मिया र सत्यम रानाले गरेका छन्। त्यस्तै टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। फिल्मको मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजनको जिम्मेवारी नगेन्द्र घिमिरेले सम्हालेका छन् । फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने रंग संयोजन कनाल कँवरको रहेको छ।