ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन
बिगत ८ वर्षदेखि आयोजना हुँदै आएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)२०२६’ का लागि आवेदन आह्वान गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हुने निम अवार्डको यो नवौं संस्करण हो ।
कार्यक्रम संयोजक तथा पिम नेपालकी महासचिव कमला जोशीका अनुसार अवार्डको समापन समारोह आगामी २०८३ साल वैशाखको तेस्रो साता काठमाडौंमा आयोजना गरिनेछ ।
देशका विभिन्न भेगका कलाकारहरूको सहभागिता रहने यस अवार्डमा नेपालमा बोलिने विविध भाषाभाषीका गीतसंगीतलाई विशेष प्राथमिकता दिँदै आइएको छ । काँठे, देउडा, नेपाल भाषा, तामाङ, मैथिली, भोजपुरी, राई, लिम्बु, थारू, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवारलगायत भाषाका गीत तथा म्युजिक भिडियोहरू यसमा सहभागी हुँदै आएका छन् ।
सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३० भित्र सार्वजनिक भएका गीत तथा म्युजिक भिडियोहरू अवार्डमा सहभागी हुन योग्य हुने जनाइएको छ । ईरा प्रोडक्सन प्रा.लि.को व्यवस्थापनमा हुने अवार्डका आवेदन फाराम आयोजकको कार्यालयबाट तथा अनलाइन माध्यमबाट पनि उपलब्ध हुने बताइएको छ ।


