चलचित्र ‘टेम्केः द डेस्टिनेसन’को शुभमुहूर्त


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ फागुन

नेपाली चलचित्र ‘टेम्केः द डेस्टिनेसन’ निर्माण घोषणा गरिएको छ । शुक्रवार काठमाडौँमा एक समारोहबिच यो चलचित्रको मुहूर्तसहित निर्माण घोषणा गरिएको हो ।

 कार्यक्रममा अभिनेता श्रीदेव भट्टराई, प्रितिका शर्मालगायतले मुहूर्त सर्ट दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्तको शुभारम्भ गरेका थिए । यो चलचित्रमा शिव श्रेष्ठ, श्रीदेव भट्टराई, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायत रहेका छन् ।

यो चलचित्रको छायांकन चैत महिनाको दोस्रो सातादेखि प्रारम्भ गर्ने निर्माण पक्षले मुहूर्त समारोहमा जानकारी गरायो । आर.डी.एस. नेपालको प्रस्तुतिमा बन्ने यो फिल्मको निर्देशन देवप्रसाद धिमालले गर्ने छन् । धिमाल नै यो फिल्मका निर्माता पनि हुन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन् । यस्तै यो चलचित्रमा भोला सुवेदी (प्रणप), राजनजंग थापा तथा जित शेरचन कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रको सह–निर्देशकका रूपमा विजयराज भुर्तेल रहेका छन् भने द्वन्द निर्देशन राजु किरातले गर्ने भएका छन् । चलचित्रको छायांकारमा नरेश ऐयर रहेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार फिल्मको छायाङ्कन काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा गरिनेछ । यो फिल्मले नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ ।