कलाकार संघको विभिन्न पदमा यी कलाकारले दिँदैछन उम्मेदवारी 


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ फागुन 

नेपाल कलाकार संघको चुनावी अधिवेशन आउँदो २८ चैतमा हुने भएको छ । संघको २१औं साधारण सभा तथा चुनावी अधिवेशन काठमाडौँमा हुन लागेको हो । जसका लागि यति बेला दुई जनाले अध्यक्षको लागि लबिङ सुरु गरेका छन् । वर्तमान अध्यक्ष मोहन निरौला र पूर्व अध्यक्ष रवीन्द्र खड्काले पनि आफूहरूले पुन अध्यक्षको उम्मेदवारी दिन सक्ने सम्भावना देखाएका छन् ।

संघको अध्यक्षको लागि अहिले पूर्व उपाध्यक्ष उत्तम केसी र वर्तमान महासचिव सबिन श्रेष्ठले आफ्नो लबिङ सुरु गरेका छन् । यी दुवै जना अहिले आन्तरिक छलफलमा भए पनि दुवैले प्रत्यक्ष घोषणा गरेका छैनन् । उनीहरू नेपाल चलचित्र कलाकार संघमा अध्यक्षका आकांक्षी देखिएका छन् ।

यसअघि वर्तमान अध्यक्ष मोहन निरौला अहिलेको अवस्था हेरेर केही दिन पछि कसरी अघि बढ्ने भनेर निर्णय दिने बताएका छन् । पूर्व अध्यक्ष रवीन्द्र खड्काले आफूलाई वर्तमान अध्यक्ष मोहन निरौलाको समर्थन रहेकाले संघमा अध्यक्षको उम्मेदवारी दिन सक्ने सम्भावना रहेको बताएका छन् ।

अहिलेसम्म उपाध्यक्षमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् बरु संघको महासचिवमा वर्तमान सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल र पूर्व सचिव पनाह अधिकारीले आकांक्षा देखाएका छन् ।

हालका कार्यसमिति सदस्य गोपाल ढकाल ‘छन्दे’ले यता सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । अहिलेसम्म उनी बाहेक अरूको सचिवमा चर्चा छैन । यस्तै वर्तमान सह–कोषाध्यक्ष पवित्रा आचार्यले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छिन् । वर्तमान कार्यसमिति सदस्य रोशन श्रेष्ठले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।