ब्युटी न्युज नेपाल
काठमाडौं, २५ फागुन
म्युजिक खबरको प्रस्तुति एवम् शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन गइरहेको १३ औं म्युजिक खबर म्युजिक अवार्ड २०८२ को लागि गीत सहभागी गराउन आवेदन खुला गरिएको छ । १३औं म्युजिक खबर म्युजिक अवार्ड २०८२ को आवेदन फाराम खुला गरिएको हो ।
विगत १३ वर्षदेखि निरन्तर हुँदै आइरहेको यस अवार्डमा आफ्ना सिर्जनाहरुलाई सहभागी गराउन एभेन्टोज नेपालको तल दिइएको लिंकमा क्लिक गरेर गीत सहभागी गराउन सक्नुहुनेछ भने सिधै म्युजिक खबरको कार्यालयमा उपस्थित भएर पनि सहभागी गराउन सक्नुहुनेछ । अवार्डमा २०८१ बैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका गीतसंगीतलाई समावेश गरिनेछ ।
१३ औं म्यूजिक खबर म्यूजिक अवार्डमा गीतसंगीतका विभिन्न ३६ विधा सहभागी गराउँदै आइएको छ । मुलुकको प्रतिष्ठित र प्रतिक्षित अवार्ड म्यूजिक खबर म्यूजिक अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिक र कलाकारहरुलाई आयोजक संस्थाले अवार्ड प्रदान गर्दै आइरहेको छ ।
अंग्रेजी वर्ष २०१२, बाट सुरु भएको यो अवार्डले निरन्तर रुपमा २०२६ सम्म आइपुग्दा ६ भन्दा बढी कलाकारलाई अवार्ड, सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । संगीत क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । नेपाली गीत संगीतलाई आत्मसात गर्दै कलाको यस माध्यमबाट राम्रोभन्दा राम्रो गीत संगीतको सिर्जनामा बृद्धि होस्, नेपाली मौलिक गीतसंगीतले प्रश्रय पाओस् र हाम्रो प्रयासबाट गीतसंगीतको क्षेत्रमा अघि बढेका सिर्जनशील व्यक्तित्वहरुलाई अझ प्रोत्साहन पुगोस् र गीतसंगीतको विकासमा योगदान पुगोस् भन्ने हेतुले आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले जानकारी दिए ।


