काँग्रेसले १० स्थानमा जित्यो, यी हुन विजेता सांसदहरू, ११ स्थानमा अग्रता


अहिलेसम्मको अवस्थामा नेपाली काँग्रेसबाट यस पटक प्रतिनिधि सभामा विजय प्राप्त गर्ने वासना थापा एकमात्र महिला प्रतिनिधि सभा सदस्य बनेकी छिन् ।

ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ फागुन

गगन थापाको नेतृत्वमा रहेको नेपाली काँग्रेसबाट सभापति गगन थापा आफैँ सर्लाही ४ मा अहिलेसम्म पछि परिरहेका छन् । उनी अहिलेसम्म ८ हजार भन्दा बढी मतले पछि परेका छन् । तथापि उनको पार्टी नेपाली काँग्रेसले आज शनिवार बेलुका साँढे सात बजेसम्म मुलुकका विभिन्न १० स्थानमा विजय हासिल गरिसकेको छ ।

यस्तै नेपाली काँग्रेस हालसम्म ११ स्थानमा अगाडी रहेको छ । य अवस्था हेर्दा यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले २०÷२१ सिटसम्म प्रत्यक्ष तर्फ ल्याउने सम्भावना देखिएको छ । शुक्रवारसम्म निराश देखिएको काँग्रेसमा शनिवार दिउँसोबाट केही आशा जागेको छ ।

हालसम्म काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि जित्नेहरुमा सुर्खेत १बाट २६ हजार ८९७ मत सहित विष्णु बहादुर खड्का, कपिलवस्तु ३ बाट २३ हजार ५३५ मत सहित अभिषेक प्रताप शाह, जाजरकोट १ बाट २० हजार १४२ मत सहित खड्कबहादुर बुढा, डोटी १ बाट १४ हजार ८९७ मत सहित भरतबहादुर खडका, दैलेख १ बाट १२ हजार ३७२ मत सहित वासना थापा रहेका छन् । अहिलेसम्मको अवस्थामा नेपाली काँग्रेसबाट यस पटक प्रतिनिधि सभामा विजय प्राप्त गर्ने वासना थापा एकमात्र महिला प्रतिनिधि सभा सदस्य बनेकी छिन् ।

योगेश गौचन थकाली

यस्तै नेपाल काँग्रेसमै मनाङबाट २४१५ मतसहित टेकबहादुर गुरुङ, ३३०७ मत सहित मुस्ताङबाट योगेश गौचन थकाली, १० हजार ६५६ मत सहित रसुवाबाट मोहन आचार्य, १० हजार ७५९ मत सहित अछाम १ बाट भारत कुमार स्वाँर र तेह्रथुम १ बाट ११ हजार ५६१ मत सहित सन्तोष सुब्बा विजयी भएका छन् ।

नेपाली काँग्रेसले अझै ११ ठाउँमा लिड गरिरहेका कारण आइतबार बिहानसम्म धेरै स्थानको परिणाम आउने देखिन्छ ।