‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक, फिल्म १५ जेठमा प्रदर्शनमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ फागुन

आरआर फिल्म्सको वितरणमा तयार भएको चलचित्र ‘मितज्यू’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फिल्मको फस्ट लुक्स सार्वजनिक गरेको छ। तीन दिनअघि छायांकन सम्पन्न गरेको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य तीन पात्र दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई ग्रामीण परिवेशमा प्रस्तुत गरिएको छ। पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपअगाडि दयाहाङ राई र सौगात मल्लबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य देखिन्छ भने जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया गम्भीर मुद्रामा बसेकी छन्।

जिपको हुटमा कोसेलीका रूपमा सुँगुर, राडीपाखी र तरकारी राखिएको देखिन्छ भने छेउमा डोको र गाग्री पनि देख्न सकिन्छ। यी सामग्रीले उनीहरू कतै बसाइँ सरेको संकेत दिन्छ। पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु झल्काएको अनुमान गर्न सकिन्छ। दयाहाङ र सौगातबीचको द्वन्द्व तेरियाकै कारण हो वा अन्य कुनै विषयमा आधारित छ भन्ने जिज्ञासा पोस्टरले नै दर्शकमाझ सिर्जना गरेको छ। टिजर र ट्रेलरमार्फत यसबारे थप खुलासा हुने अपेक्षा गरिएको छ।

अनिल बुढा मगरको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ। यसै फिल्ममार्फत तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे र कार्यशाला निर्देशक भोलाराज सापकोटा हुन्। प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) रहेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मेवारी फिरोज खड्काले सम्हालेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री हुन्। द्वन्द्व निर्देशन प्रभात विष्टले गरेका छन् भने साउन्ड डिजाइन नवीन श्रेष्ठको रहेको छ। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ, जसका गीतमा मल्लसहित मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न पाइनेछ। कोरियोग्राफी मिङ्मा लेप्चाले सम्हालेका छन्।