स्पट सिंक साउन्ड ट्रेनिङ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ फागुन

छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ सम्पन्न गरेको छ । छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । को दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा छायांकनकै क्रममा ‘लाइभ साउन्ड’ प्रयोग गर्ने अभ्यास बढ्दै गइरहेको सन्दर्भमा यस प्रशिक्षणलाई प्राविधिक स्तरमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ । प्रशिक्षणमा अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन) को संयोजनमा बोर्डले आयोजना गरेको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्यक्रमका अवसरमा छायांकन स्थलमै गुणस्तरीय ध्वनि अंकन गर्ने निर्देशकहरूको सोचलाई प्राविधिक रूपमा सशक्त बनाउन यस्तो तालिम उपयोगी हुने बताए । सो क्रममा उनले भने,‘करीब दुई दर्जन दक्षता अभिवृद्धि कार्यक्रममध्ये ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ एक महत्वपूर्ण कार्यक्रम हो,” उनले भने, “यसको दोस्रो चरण पनि चाँडै आयोजना गर्ने तयारीमा छौं ।’

प्रशिक्षणले नेपाली चलचित्रमा ‘डबिङ’मा निर्भरता घटाउँदै मौलिक ध्वनि र यथार्थपरक प्रस्तुति सुदृढ गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।