एक महिनामै सकियो ‘मितज्यू’को छायांकन, जेठ १५ गते प्रदर्शनमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ फागुन

निर्देशक अनिल बुढा मगर ले आफ्नो नयाँ चलचित्र ‘मितज्यू’को छायांकन सम्पन्न गरेका छन्। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ–मुहूर्त गर्दै सुरु गरिएको छायांकन एक महिनाभित्रै सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। आरआर फिल्म्स वितरक रहेको ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर देशव्यापी रूपमा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ। यस चलचित्रमार्फत तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन्।

निर्माता जनक घर्ती मगरका अनुसार कलाकार तथा प्राविधिक टोलीको समन्वय र सक्रियताका कारण निर्धारित समयमै छायांकन कार्य पूरा गर्न सफल भएको हो। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रको छायांकन दाङ र रोल्पाका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ।

निर्देशक मगरले छायांकन अवधि उत्साहपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताए। सबै पक्षको सहकार्य र मेहनतका कारण छोटो समयमै चलचित्र छायांकन गर्न सम्भव भएको उनको भनाइ छ। ‘मितज्यू’ उनको दोस्रो निर्देशन हो। यसअघि उनले निर्देशन गरेको चलचित्र घरज्वाइँ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।

चलचित्रको प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) रहेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मेवारी फिरोज खड्काले सम्हालेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइन किशोर नेपालले गरेका छन् भने वेशभूषा डिजाइन संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्रीले सम्हालेका छन्।

 छायांकन शिशिर बिशंखेले गरेका छन् भने सम्पादन लोकश बज्राचार्यले गरेका हुन्। कार्यशाला भोलाराज सापकोटाले सञ्चालन गरेका छन्। द्वन्द्व निर्देशन प्रभात विष्टको रहेको छ भने ध्वनि डिजाइन नवीन श्रेष्ठले गरेका छन्। चलचित्रमा संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। गीतमा श्रीकृष्ण बम मल्लसँगै मेलिन राई र लक्ष्मी मल्लको स्वर सुन्न पाइनेछ।