राम नाम सत्यले गीतबाट सुरु गर्यो प्रचार


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ फागुन

चैत्र २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ले पहिलो गीत सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरेको छ । ‘धागोले बाटेको’ बोलको रोमान्टिक गीत सार्वजनिक भएसँगै निर्माण टिमले फिल्मको औपचारिक प्रचार आरम्भ गरेको हो । सार्वजनिक गीतमा रचना रिमालसँगै अर्का गायकको स्वर सुन्न सकिन्छ । यस गीतमा फिल्मका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्ट फिचरिङमा देखिएका छन् ।

‘पर्दा पछाडिको पर्दा’ थिममा निर्माण गरिएको फिल्म एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित छ । फिल्ममा विराज भट्ट र सुपुष्पा भट्टका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापालगायत कलाकारहरुको अभिनय रहेको छ ।

राम नाम सत्य लाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् भने मोती कार्की क्रियटिभ प्रोड्यूसरका रूपमा रहेका छन् । लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् ।

फिल्ममा अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ । माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, बन्दे प्रसाद सम्पादक र काला चरण व्याकग्राउन्ड म्युजिकमा छन् ।

सियोन श्रेष्ठको कोरियोग्राफी, राजेन्द्र मोक्तानको कलर तथा नवराज शर्माको मुख्य निर्देशन रहेको फिल्मको टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन् । स्क्रिप्ट सल्लाहकारमा अभिमन्यु निरवी र समय थपलिया रहेका छन् ।