सेजल ‘मिस इको इन्टरनेशनल २०२६’ मा जाँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ फागुन

इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन्। ग्रीन आर्ट मिडियाले उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ को ताज पहिर्याउँदै उक्त प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो।

बिहीबार अबेर साँझ द हाइट रेस्ट्रो एण्ड वेलनेस, महाराजगञ्जमा आयोजित विशेष समारोहमा गत वर्षकी ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ विजेता संस्कृति भट्टले सेजललाई ताज पहिर्याएकी थिइन्।

ताज ग्रहणपछि सेजलले यस अवसरलाई आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताइन्। ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय गन्तव्यहरूको विश्वसामु प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइन्।

आगामी अप्रिलमा सञ्चालन हुने प्रतियोगितामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहनेछ। सो अवसरमा सेजल नेपालको तर्फबाट एक्लो प्रतिनिधिका रूपमा प्रतिस्पर्धामा उत्रिनेछिन्। प्रतियोगिताको तयारीका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठसहित विभिन्न प्रतिष्ठित व्यक्तित्वबाट उनलाई विशेष ग्रुमिङ प्रदान गरिने जनाइएको छ।

‘ब्युटी फर इको’ नारासहित सन् २०१५ देखि इजिप्टमा यस प्रतियोगिताको आयोजना हुँदै आएको छ। वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाएको प्रतियोगिताले विश्वभरका पर्यावरण तथा सांस्कृतिक सम्पदाबारे अन्तर्राष्ट्रिय सञ्जालमार्फत सूचना प्रवाह गर्ने लक्ष्य राखेको ग्रीन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले जानकारी दिए।